सरकारलाई चुनाव केन्द्रित हुन प्रचण्डकाे आग्रह

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन् ।

सोमबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै दाहालले अहिलेको राजनीतिक परिस्थितिमा शान्तिपूर्ण र निष्पक्ष निर्वाचनमार्फत देशलाई स्थायित्व र समृद्धिको बाटोतर्फ लैजानुको विकल्प नभएको बताएका हुन् ।

उनका अनुसार, देशमा उत्पन्न अवस्थालाई सहज बनाउन निर्वाचन नै प्रमुख उपाय हो, त्यसैले सबै राजनीतिक शक्तिहरू त्यसमा एकजुट हुनुपर्ने आवश्यकता रहेको छ। ‘चुनाव हुन्छ वा हुँदैन भन्ने होइन, यसको विकल्प छैन । त्यसैले हाम्रो पार्टी पूर्ण तयारीमा जुटिसकेको छ,’ उनले स्पष्ट पारे।

दाहालले नेपाली कांग्रेसलगायत अन्य दलका शीर्ष नेतासँग पनि निर्वाचनको वातावरण बनाउन निरन्तर संवाद भइरहेको जानकारी दिए। ‘सरकार चुनावको वातावरण बनाउन लागेको मैले महसुस गरेको छु,’ उनले भने।

यस्तै, उनले समाजवादी मोर्चामा रहेका दलबीच एकताका लागि भइरहेको छलफल सकारात्मक रहेको बताउँदै भने, ‘यही हप्ताभित्र मोर्चाभित्रका दलहरूबीच एकता हुने वा नहुने निष्कर्ष आउँछ ।’