काठमाडौँ ।प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेका चार जना मन्त्रीमध्ये आज दुई जनाले मात्रै शपथ ग्रहण हुने भएका छन्।
प्रधानमन्त्री कार्कीले आज बिहान चार जनाको मन्त्रीका रूपमा सिफारिस गरेकी थिइन्। तर स्रोतका अनुसार तीमध्ये दुई जनाको मात्र आइतबार शपथ हुने भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ता सिफारिस भएका छन्। यी दुई जनाको आज शपथ ग्रहण कार्यक्रम तय गरिएको छ।
प्रधानमन्त्री कार्कीले गणपतिलाल श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा सिफारिस गरेकी थिइन्। यसअघि उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि प्रस्ताव गरिएको थियो । तर श्रेष्ठले भूमि मन्त्री बन्ने कि नबन्ने भन्ने विषयमा छलफलमै रहेको बताएका छन्।
त्यसैगरी, खगेन्द्र सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका रूपमा सिफारिस गरिएको थियो। तर उनीविरुद्ध तीनवटा अदालतमा मुद्दा विचाराधीन रहेको तथ्य बाहिर आएपछि उनको शपथ स्थगित भएको हो।










प्रतिक्रिया