जेनजी आन्दाेलनपछि अभिनेता निश्चललाई किन तनाब ?

काठमाडौँ । जेनजी आन्दोलनको क्रममा अभिनेता निश्चल बस्नेत पनि सहभागी भएको भिडियो सार्वजनिक भएपछि उनी आलोचनाको केन्द्रमा परेका छन्।यस प्रकरणले उनलाई तनाब समेत उत्पन्न गराएकाे छ ।

गत भदौ अन्तिम साता बानेश्वरमा संसद् भवनमा आगजनी भइरहँदा खिचिएको भिडियोमा निश्चलले प्रदर्शनकारी जेनजी युवाहरूको समर्थन गरेका छन् । भिडियोमा उनले भनेका छन्,‘यो जेनजी युगको सुरुवात हो । उनीहरूले गरेर देखाएका छन् । थ्यांक्यू उनीहरूलाई ।’

भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा केही प्रयोगकर्ताहरूले उनलाई हिंसात्मक घटनामा संलग्न भएको आरोप लगाएका छन्। खास गरी संसद् भवनमा आगजनी र तोडफोड भइरहँदा उक्त स्थानमा देखिएको भन्दै आलोचना बढेको हो।

तर, निश्चलले आफूले न ढुङ्गा हानेको न आगजनी गरेको भन्दै आरोप अस्वीकार गरेका छन् । उनले निष्पक्ष छानबिनका लागि आग्रह गर्दै दोषी प्रमाणित भए कानुनअनुसार सजाय भोग्न तयार रहेको जनाएका छन्।

यस्तो छ बस्नेतको स्टाटस्

मैले कतैपनी ढुंगा हानेको, आगजनी गरेको प्रमाणीत गर्नुस मलाई जे सजाय दिएपनि भोग्न तयार छु ।

प्रमाण खोज्दा म ढुंगा हान्दै थिए कि रोक्दै थिएं स्पस्ट हुन्छ, त्यसैले कृपया ममाथी छानबिन गर्न आग्रह गर्दछु ।

आन्दोलनमा गएको हो ? हो !

भ्रष्टाचारको बिरोध गरेको हो ? हो !

मसंग फोटो भिडियो खिच्न दाजुभाई दिदिबहिनी आएका हुन? हो !

भिडियोको माथी आफु अनुकुल CAPTION राखेर भ्रम छर्दै बस्नेलाई मेरो भन्नु केही छैन ।