जेन–जी आन्दोलनका विषयमा सेनाले मुख खोल्यो

काठमाडौं । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको बारेमा नेपाली सेनाले मुख खोलेको छ । आज पत्रकार सम्मेलन गर्दै युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले जेनजी आन्दोलनको लहर केही समयअघिदेखि देखिए पनि त्यसको विकासक्रम (इभोलुसन) अचानक प्रकट भएको बताए ।े

उनले भने, ‘जेनजी आन्दोलनको लहर पहिलेदेखि नै देखिएको थियो, तर यो सिलसिलेवार रूपमा नभई अचानक प्रकट भयो ।’ सेनाले उक्त परिस्थितिलाई मध्यनजर गर्दै आवश्यकताको सिद्धान्तका आधारमा उचित कदम चालेको थापाले बताए ।

उनले भने, ‘हामीले आवश्यकताको सिद्धान्तलाई ध्यानमा राखेर कदम चालेका हौँ । अन्य सुरक्षा निकायसँग सहकार्य गर्दै काँधमा काँध मिलाएर काम गरिरहेका छौँ ।’आन्दोलनलाई समयमै नियन्त्रण गर्न सेनाले पहल नगरेको भन्ने प्रश्नमा थापाले भने, ‘यो प्रश्न आफैँमा विरोधाभासपूर्ण छ । हाम्रो मुख्य उद्देश्य जनधनको सुरक्षा र राष्ट्रको रक्षा हो ।’

सेनाले भदौ २३ र २४ गतेको जेनजी विद्रोहका क्रममा कुल ७६ मध्ये २२ जना प्रदर्शनकारीको मृत्यु भएको जनाएको छ । बाँकी मृतकमा ३ जना प्रहरी, १० जना कैदी र अन्य ४१ जना रहेको सेनाको युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले जानकारी दिए ।

आन्दोलन ४८४ स्थानमा भएको पनि उनले बताए । सेनाका अनुसार ६८८ वटा सरकारी कार्यालय, २५९ वटा निजी निवास, १२८ वटा व्यापारिक प्रतिष्ठान, १९८ वटा राजनीतिक दलका कार्यालय, ३०७ वटा प्रहरी कार्यालयमा आगजनी तथा तोडफोड भएको छ । यस्तै आन्दोलनका क्रममा १५ हजार ५८८ जना कैदीबन्दी भागेकामा हालसम्म ८ हजार ७९९ जनालाई पुनः नियन्त्रणमा लिइएको सेनाको भनाइ छ ।

सेनाले आन्दोलनकै क्रममा ९७८ थान हतियार हराएकोमा ५८६ वटा फिर्ता गराइएको पनि आफ्नो रिपोर्टमा उल्लेख छ ।