काठमाडौं । नेपालले ओमानमा जारी टी–२० विश्वकप छनोट प्रतियोगिता जितेको खण्डमा राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरूले जनही १९ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले खेलकुद विकास नियमावली २०७९ अनुसार सो पुरस्कार रकम दिइने बताएका छन् ।
नेपाल अहिलेसम्म प्रतियोगितामा अपराजित रहँदै अंकतालिकाको शीर्षस्थानमा रहेको छ । हिजो भएको म्याचमा घरेलु टिम ओमानलाई पराजित गरेपछि नेपाल पहिलो नम्बरमा उक्लिएको हो । अब भोली(शुक्रवार) हुने अन्तिम खेलमा नेपालले सामोआलाई हराएको खण्डमा नेपालले छनोट प्रतियोगिताको उपाधि जित्ने छ ।
घिसिङकै कार्यकालमा ल्याइएको खेलकुद विकास नियमावलीमा खेलाडीहरूलाई प्रदान गरिने पटके पुरस्कारलाई व्यवस्थित गरिएको थियो । कस्तो प्रतियोगिता जितेमा खेलाडी र प्रशिक्षकलाई कति पुरस्कार दिने भन्ने नियमावलीमै उल्लेख छ ।
प्रतिक्रिया