प्रतिनिधिसभाको निर्वाचनका बारेमा छलफल गर्न आयोगले बालायो दललाई

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका विषयमा छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दलहरूलाई बोलाएको छ ।

आयोगले आज छलफलका लागि विभिन्न राजनीतिक दललाई बोलाएको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरेका २९ दललाई छलफलमा बोलाइएको छ । उनीहरूलाई अहिलेसम्म निर्वाचनका लागि गरेका तयारीबारे जानकारी गराउने र सुझाव लिने प्रवक्ता भट्टराईले बताए ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेलगत्तै उनको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गर्दै फागुन २१ गतेका लागि चुनाव तोकेका छन्।

यसअघि राष्ट्रपति पौडेलले सरकार र राजनीतिक दलबीच आफ्नै कार्यालयमा छलफल गराएका थिए ।