मनसुन हटेसँगै बढ्याे चिसाे

काठमाडौं । मनसुन हटेसँगै देशभर चिसो बढ्न थालेको छ । काठमाडौं उपत्यकाको तापक्रम ९ दिनदेखि लगातार घटिरहेको छ ।

यस क्रममा आज (असोज २८, मंगलबार) उपत्यकाको न्यूनतम तापक्रम १२.५ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले जनाएका छन् ।

९ दिनअघि असोज २० गते काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८.१ डिग्री सेल्सियस थियो भने २१ गते घटेर १७.८ डिग्री सेल्सियसमा झरेको थियो। असोज २२ गते एकदिन स्थिर रहेको उपत्यकाको न्यूनतम तापक्रम त्यसयता लगातार घट्दै असोज २३ मा १७.४, असोज २४ मा १५.६, असोज २५ मा १४.५, असोज २६ मा १३.३, असोज २७ मा १३ डिग्री सेल्सियसमा झरेको थियो।

त्यसबाट पनि घटेर आज असोज २८ गते १२.५ डिग्री सेल्सियसमा ओर्लिएको हो।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ। मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।