‘भेप’ प्रकरणमा पक्राउ परेका महराको अभियोगपत्र अदालतमा पेस

काठमाडौं । ‘भेप’मा सुन लुकाएर ल्याएको प्रकरणमा मुछिएर पक्राउ परेका पूर्व सभामुख कृष्ण बहादुर महराविरुद्ध सरकारी वकिलले अदालतमा अभियोगपत्र पेस गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हिजो (आइतबार) उनलाई ललितपुरको खुमलटारबाट पक्राउ गरेको थियो ।

‘भेप’मा लुकाएर ल्याएको सुनबारेको अभियोगपत्र जिल्ला अदालत काठमाडौंमा पेस गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जनाएको छ ।

२०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न कसुरको पूरक अभियोगमा महरालाई मात्र प्रतिवादी कायम गरिएको छ ।

सो प्रकरणमा सुनको तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महारालाई सुन तस्करीमा दोषी ठहर गरेर पुनः मुद्दा चलाउन सिफारिस गरेको थियो ।

भेपमा सुन ल्याउने गिरोहका चिनियाँ सुन तस्कर दाओजिन वाङसँग ‘कनेक्सन’ देखिएपछि सुन तस्करी जाँचबुझ आयोगले उनलाई सङ्गठित तस्करी गरेको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले महरालाई पनि अदालतमा उपस्थित गराएको छ ।

महराले यसअघिको बयानमा चिनियाँ सुन तस्कर वाङसँग चिनजान रहेको स्विकारेका छन् । चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको ७३० वटा भेप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जफत गरेपछि कृष्ण बहादुर महरा र उनको पुत्र राहुलले छुटाउन भूमिका खेलेका हुन् । राहुल यसअघि पक्राउ परेका थिए ।