२८ गतेबाट सर्बोच्चमा रिट निवेदन दर्ता खुल्ने

काठमाडौं । सर्वोच्च अदालतमा भदौ २४ गते भएको आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटका घटनाले ठूलो क्षति पुगेपछि स्थगित सेवाहरू असोज २८ गतेदेखि आंशिक रूपमा सञ्चालनमा आउने भएकाे छ ।

असोज २६ गते बसेको पूर्ण बैठकको निर्णयअनुसार, हाल बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक निवेदनको मात्र दर्ता र सुनुवाइ भइरहेकोमा अब असोज २८ गते (मङ्गलवार) देखि रिट निवेदनहरू, मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७, र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ अन्तर्गतका निवेदनहरू दर्ता र सुनुवाइ हुनेछन् ।

प्रवक्ता अर्जुनप्रसाद कोइरालाले अन्य सबै सेवाहरू अर्को सूचना जारी नभएसम्म स्थगित रहने जनाएका छन् ।