कांग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक सर्याे

काठमाडौँ । नेपाली काँग्रेसले असोज २६ आइतबार बस्ने भनिएको केन्द्रीय कार्य समितिको बैठक दुई दिन पछि सरेको छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार अब बैठक असोज २८ गते बैठक बस्नेछ।

जेनजी आन्दोलनपछि पहिलो पटक नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बिहीबारदेखि सुरु भएको थियो । बैठकमा महाधिवेशनबारे छलफल भएको थियो । तर, महाधिवेशनको मिति र स्वरूपबारे स्पष्ट निष्कर्षमा पुग्न नसकेपछि केन्द्रीय समिति बैठक सारिएको काँग्रेसले जनाएको छ

कांग्रेस प्रवक्ता महतले भने, ‘हामी सबै चाहन्छौँ अधिवेशन चाँडो होस्। तर, त्यो विधिसम्मत, सहभागीमूलक र व्यावहारिक हुनुपर्छ। अझै निष्कर्ष निकाल्न सकेका छैनौँ।’

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने र नसके विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

प्रवक्ता महतले केन्द्रीय समितिको बैठक अघि सबै एजेन्डामा स्पष्ट मत बनाएर छलफल सकिने र त्यसपछि बैठकबाट ठोस निर्णय निकाल्ने तयारी रहेको जानकारी दिए।

कतिपयले त्यसमा समर्थन जनाए पनि सबै नेताहरू निचोडमा पुग्न सकेका थिएनन् । ठोस प्रस्तावबिना केन्द्रीय समितिमा जाँदा त्यहाँबाट झन् निष्कर्षमा पुग्न गाह्रो हुने भन्दै नेताहरू बैठक केही दिन सारेर भए पनि त्यसमा छलफल गर्न तयार भएका हुन् ।