इलाम । भौतिक योजना तथा यातायात मन्त्री कुलमान घिसिङले सरकारको प्राथमिकतामा राहत र पुन:निर्माण रहेको बताएका छन् ।
आज बाढी पहिरो प्रभावित इलामको स्थलगत निरीक्षणपछि उनले भने, ‘सरकार प्रभावित नागरिकसँगै छ, तत्कालीन राहत र दीर्घकालीन पुनर्निर्माणका काम अघि बढाइनेछ ।
शनिबार इलाम नगरपालिका–१० राजदुवाली पुगेर मन्त्री घिसिङले बाढीले प्रभावित क्षेत्रको अवलोकन गर्दै तत्काल सडक खुलाउन र विद्युत् आपूर्ति गर्न निर्देशन दिएका हुन् ।
बाढीले विस्थापित ३४ घरपरिवारलाई उनले राहत वितरण समेत गरे । अवलोकनका क्रममा मन्त्री घिसिङले प्रभावितहरूलाई चाँडो उद्धार, पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणका कामलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए।
उनले राजदुवाली सडक, मिल घुम्तीलगायतका क्षतिग्रस्त सडक र संरचनाको अवस्था अवलोकन गरेका छन् । अवलोकनपछि उनले आइतबारसम्म सडक सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । मेची राजमार्गअन्तर्गतको राजदुवाली खण्ड अहिलेसम्म अवरुद्ध छ। मिल गोलाइ भने सञ्चालन भइसकेको छ ।
गत असोज १८ गते रातिको भीषण वर्षापछि ठूलो जनधनको क्षति भएकाले सरकारले इलामलाई तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । विपद्मा परी इलाममा ३९ जनाको मृत्यु भएको छ । सयौँ परिवार विस्थापित भएका छन् ।
प्रतिक्रिया