एमाले अध्यक्ष ओलीको सुरक्षामा भूपू सैनिक र युवा संघका कार्यकर्ता खटिने

काठमाडौं । सरकारले सुरक्षा कटौती गरेपछि पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सुरक्षाको बन्दोवस्तै पार्टीभित्रकै संगठन युवा संघले गर्ने भएको छ । ओलीको सुरक्षामा भूपू सैनिक, प्रहरी सङ्गठन र राष्ट्रिय युवा सङ्घका कार्यकर्ता खटिने भएका हुन् ।

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले ओलीको सुरक्षामा भूपू सैनिक, प्रहरी सङ्गठन र राष्ट्रिय युवा सङ्घका कार्यकर्ता खटिने जनाकारी दिएका छन् ।

बस्नेतले सो विषयमा जानकारी दिँदै फेसबुकमा लेखेका छन्, ‘यो निर्णय नेतृत्वप्रतिको सम्मान मात्र होइन, राष्ट्रप्रतिको जिम्मेवारीको प्रतीक हो। जनताको विश्वासले उभ्याएको नेताको सुरक्षामा पनि जनता स्वयं उभिएका छन् ।’

सरकारले पूर्वप्रधानमन्त्री लगायतका उच्चपदस्थहरुले राखेका सुरक्षाकर्मीहरू घटाएपछि पार्टीका कार्यकर्ताहरू नै सुरक्षामा बस्न लागेका हुन् ।यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सुरक्षामा वाइसिएल र पूर्वजनमुक्ति सेना राख्ने निर्णय गरेका थिए ।