राजनीतिक कनेक्नबाट रोकिएका फाइल खोल्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका फाइल खोल्न निर्देशन दिएका छन् ।
आज बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को निरीक्षण गर्न पुगेका मन्त्री अर्यालले राजनीतिक प्रभावमा रोकिएका मुद्दा पुनः अघि बढाउन सीआईबी प्रमुखलाई निर्देशन दिएका हुन् ।

यो सरकारको म्याण्डेड नै सुशासन भएको बताउँदै उनले सीआईबी प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) डा.मनोज केसीलाई कुनै पनि प्रभावमा परेरअनुसन्धान नरोक्न निर्देशन दिए ।

सुशासनको मामिलामा फड्को मार्न आवश्यक रहेको बताउँदै गृहमन्त्रीले सुशासन दिन नसकेकै कारण यसअघिको सरकार र जनप्रतिनिधिहरूको भूमिका बीचैमा भंग भएको पनि दाबी गरे ।

‘सुशासन पहिलो सर्त हो । केही राजनीतिक कनेक्सनका आधारमा सुशासनमा जसरी विगतमा अवरोध आयो । कतिपय आर्थिक, वित्तीय आर्थिक अपराधको अनुसन्धानमा । भ्रष्टाचारका विषयहरूमा जुन खालको अवरोध आइरहेको थियो । त्यो अवरोध हामीले फकाउनुपर्छ । त्यहीबमोजिम मैले निर्देशन दिएको छु’, अर्यालले छाटो प्रतिक्रिया दिए ।

अनुसन्धान गर्ने निकायले आफ्नो व्यावसायिकता प्रदर्शन गरेर काम अगाडि बढाउनुपर्ने, रोकिनु नपर्ने विषयहरू यदि रोकिएका छन् भने कुनै नयाँ विषय अनुसन्धान सुरु गर्नुपर्ने छ भने ती अगाडि बढाउन पनि अर्यालले निर्देशन दिएका छन्। यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका तत्कालीन एसएसपी अहिले सीआईबी प्रमुख भएर अघिल्लो दिन मात्रै हाजिर भएका छन्।