काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड)को विशेष महाधिवेशनमा जानका लागि केन्द्रीय समिति भंग गर्ने प्रस्ताबलाई पार्टीका दुई नेताले असहमति जनाएका छन् ।
पार्टीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले प्रचण्डको प्रस्ताबमा असहमति जनाएका हुन् ।
आजबाट माओवादीको केन्द्रीय कमिटी बैठक काठमाडौंस्थित प्रत्रा भवनमा बसिरहेको छ । बैठकमा सुरुमै आफ्नो भनाइ राख्दै अध्यक्ष प्रचण्डले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका छन् । विशेष महाधिवेशनमाजाने भएपछि पदाधिकारी र केन्द्रीय समिति भंगको प्रस्ताव प्रस्तुत गरेका थिए ।
त्यसमा असहमति जनाउँदै उपमहासचिव शर्माले नयाँ प्रस्ताव राखेका छन् । आफ्नो असहमति रहेको भन्दै उनले नयाँ प्रस्ताव राखेका हुन् । उपमहासचिव शर्माले भनेका छन्, ‘सबै पदाधिकारी राजीनामा दिएर निर्देशक समितिमा बसेर नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गरौं ।’
उपमहासचिव शर्मा अगाडि वरिष्ठ उपाध्यक्ष श्रेष्ठ बोलेका थिए । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले प्रचण्डको प्रस्तावअनुसार मंसिरमा विशेष महाधिवेशन सम्भव नरहेको बताए । ‘मंसिरमा विशेष महाधिवेशन सम्भव छैन । निर्वाचन पछि महाधिवेशन गर्नुपर्छ,’ श्रेष्ठले भनेका छन् ।
प्रतिक्रिया