विराटनगरमा भाउजुमाथि देवरले गरे एसिड प्रहार

विराटनगर । विराटनगरमा एक महिलामाथि एसिड प्रहार भएकाे छ ।

विराटनगर महानगरपालिका–९ मा २५ वर्षीय श्रवण साह (छोटु)ले आफ्नै भाउजू २२ वर्षीया रागिनीदेवी साहमाथि एसिड प्रहार गरेका हुन्।

प्रहरीका अनुसार सोमबार भएको घटनामा महिलाको अनुहार जोगिँदा हात र शरीरका अन्य भागमा एसिड परेको छ। हाल उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ र अवस्था खतरामुक्त छ।

घटनाका बेला दाजु घरमा नभएको र देवरले बियरको बोतलमा एसिड ल्याएर प्रहार गरेको प्रहरीले जनाएको हो। प्रारम्भिक अनुसन्धान अनुसार लेनदेन विवादका कारण एसिड प्रहार भएको खुलेको छ।

मोरङ प्रहरीकी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार आरोपित श्रवण साहको खोजी कार्य तीव्र पारिएको छ।