नवनियुक्त मन्त्री पुनले गरे सुरक्षा गार्ड फिर्ता

काठमाडौं । नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सुरक्षागार्ड नचाहिने भन्दै फिर्ता पठाएका छन् । शीतल निवासमा सपथ ग्रहण गरेर कार्यभार सम्हाल्न मन्त्रालय पुगेका उनले सञ्चारकर्मीहरुसँग सेवा सुविधाबारे खुलाउँदै सोको जानकारी गराएका हुन् ।

‘त्यहाँ (शीतल निवास)बाट यहाँ मन्त्रालयसम्म आउँदा दुई जना हुनुहुन्थ्यो, एउटा पुलिसको, अर्को सेनाको’, पुनले भने, ‘यहाँ (मन्त्रालय) ठीकै छ, बाहिर (निस्केपछि मलाई फलो गर्नुपर्दैन, तिमीहरुको माथिको कमाण्डरलाई रिपोर्ट गर्दिनु, चाहिँदैन भनेको छु, के गर्छन् कुन्नी !’

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनले मन्त्री क्वार्टरमा आफ्ना लागि धेरै तामझाम नगर्न पनि कर्मचारीलाई निर्देशन दिएका छन् । ‘एउटा खाट, एउटा टेबल हुनुपर्यो, अरु केही चाहिन्न मलाई’, उनले अघि भने, ‘भान्सामा म आफैं पकाइहाल्छु समय मिल्यो भने, धेरै तामझाम गर्ने होइन क्या !’

पुनले मन्त्रालयको कामबाहेक अन्य काममा सरकारी गाडी प्रयोग नगर्ने पनि बताएका छन् । ‘मेरो आफ्नै गाडी भएको भन्दैन थेँ, छैन, के गर्नु ! कामकाज, हिँड्नलाई प्रयोग गर्छु, अरु बेला यहिँ थन्किन्छ’, उनले थपे ।

सञ्चारकर्मीले पुनलाई किताब बेच्दै हिँडेको मान्छे किन मन्त्री बन्नुभएको रु भनेर समेत सोधेका थिए । जवाफमा उनले भने, ‘साथीहरुले राजनीतिमा आउनुपर्यो भनेर क्याउँक्याउँ क्याउँक्याउँ गरे क्या !’

उनले ६ महिनापछि पुनः पुस्तक बिक्रीमा फर्किने बताएपछि सञ्चारकर्मीले सफल कार्यकालको शुभकामना दिएका थिए । तर उनले हाँस्दै भने, ‘सफलता र असफलता त्यस्तै हो !’