प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था हुनुपर्छ: प्रचण्ड

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यमान संविधानलाई संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने बताएका छन्।

शुक्रबार संविधान दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले २०७२ सालमा संविधान बन्दा माओवादीले राखेको फरकमत अहिले सम्बोधन गर्नुपर्ने बेला आएको बताए । उनले त्यसबेला नै प्रत्यक्ष निर्वाचित राष्ट्रपति कार्यकारीको व्यवस्था हुनुपर्ने लगायतका आफूहरुले फरकमत राखेको स्मरण गर्दै अहिले जेनजी आन्दोलनले त्यसलाई पुष्टि गरिदिएको बताए ।

ठूला भनिएका दलले त्यतिबला त्यो संबोधन नगरेको भन्दै उनले अहिले जेनजी आन्दोलनले आधार तय गरेको बताए । प्रचण्डले भने, ‘राजनीतिक स्थायीत्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति आवश्यक छ भनकै हो । बहस भयो । सहमति भएन । त्यसमा सहमति भएको भए अहिले अर्कै परिस्थिति हुन्थ्यो । जेनजीले आन्दोलन गर्नु पर्थेन् । यति ठूलो क्षति हुनेथिएन ।’

उनले प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र पहिचानका विषय ठीक थिए भन्ने जेनजी आन्दोलनले पुष्टि गरेको दोहो¥याउँदै संविधानलाई संशोधन गरेर जानुपर्ने धारणा राखेका छन् ।

अध्यक्ष प्रचण्डले भने, ‘हामीले संविधान बनाउँदा भिन्न मत राखेका थियौं । जेनजीको आन्दोलनले फेरि पुष्टि गरेको छ, ती मत सही थिए । १० वर्षपछि पुनः संशोधन गरेर त्यो ठाउँमा पुग्न सकिन्छ भन्ने आधार बनेको देख्छु म । त्यसलाई कार्यान्वयन गर्न अगाडि बढ्नुपर्छ ।’ उनले ठूला भनिएका दलहरुको अहंकारले यो भयंकर अवस्था आएको पनि आरोप लगाए ।