कोटेश्वर भाटभटेनीमा जलेको अवस्थामा विकास रसाईलीको शव फेला

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित भाटभटेनीमा आगोले जलेको अवस्थामा अस्थिपञ्जर फेला परेको छ।

आज बिहान साढे ९ बजेतिर काठमाडौं महानगरपालिका–३२ कोटेश्वर भाटभटेनीको चौथो तलामा जलेको शवको अस्थिपञ्जर फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी बताए।

उनका अनुसार मृतक रामेछाप खाडादेवी गाउँपालिका–६ घर भई ललितपुरको च्यासल बस्ने २२ वर्षीय विकास रसाइली हुन्।

पोष्टमर्टमको लागि शव टिचिङ अस्पताल लगिएको थियो।

एसपी बोहराका अनुसार मृतकको शव पहिचान गर्न नसकिने अवस्थामा थियो। नजिकै सिम समेत फेला परेको थियो। उक्त सिम हेर्दा विकास रसाइलीको रहेको खुलेको हो। त्यस्तै मृतकका परिवारले पनि विकास हराइरहेको जानकारी प्रहरीलाई गराएका थिए।

यसअघि काठमाडौंको चुच्चेपाटीमा रहेको भाटभटेनीमा ६ वटा शवका अस्थिपञ्जिर फेला परेका थिए। योसँगै मृतकको संख्या ७४ पुगेको छ।