काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ३ दिनभित्र घर भित्र्याउने तयारी भइरहेको एमालेले जनाएको छ ।
एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सामाजिक सञ्जालमार्फत ओलीलाई शानदार ढंगले गृह प्रवेश गराउने तयारी भएको दाबी गरेका हुन् ।
बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी ३ दिनभित्र प्रधानमन्त्री केपी बालाई हजारौँ जनसमुदायको उपस्थितिमा भव्य र शानदार ढंगले गृहप्रवेश गराउँदै छौँ। यसका लागि सुरक्षा निकायसँगको समन्वय र आवास व्यवस्थाको तयारी तीव्र गतिमा भइरहेको छ ।’
बस्नेतका अनुसार अध्यक्ष ओलीलाई भक्तपुरस्थित घरमा लगिने छ । ओलीको निवास भने भदौ २४ गते जेनजी प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका छन्।
जेनजी आन्दोलन चर्किएपछि ओलीले भदौ २४ गते राजीनामा दिएर नेपाली सेनाको सुरक्षामा शिवपुरीमा छन् ।
कांग्रेस–एमाले गठबन्धनको सरकार ढलेर मुलुकमा नागरिक सरकार गठन भइसक्दा पनि ओली, कांग्रेस सभापति शेरबहादुर देउवालगायत शीर्ष नेता घर फर्किने वातावरण बनिसकेको छैन।
प्रतिक्रिया