काठमाडौ । जेन–जीको आन्दोलनका कारण बन्द भएको यातायात देशैभर संचालन हुने भएको छ ।
आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको अध्यक्षतामा सिंहदरबारमा बसेको सरोकार भएका निकायको बैठकमा प्रदर्शनका कारण रोकिएका सार्वजनिक सवारीसाधनलाई देशव्यापी रूपमा सञ्चालन गर्ने निर्णय गरिएको हो ।
बैठकमा प्रदर्शनका कारण एक सातादेखि काठमाडौंसहित विभिन्न स्थानमा रोकिएका सार्वजनिक सवारीसाधनलाई देशव्यापी रूपमा सञ्चालन गर्ने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए ।
उनका अनुसार बैठकले ढुवानीका मालवाहक सवारीसाधनलाई सहजीकरण गर्ने निर्णय गरेको छ । दसैँ, तिहार छठ पर्व नजिकिएसँगै घर जाने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गर्न यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा यातायात व्यवसायी, मजदुर तथा ट्राफिक प्रहरी रहनेगरी समिति गठन गरिएको छ ।
उक्त समितिले सरोकार भएका निकायसँगको सहकार्य र समन्वयमा शीघ्र बैठक बसेर अग्रिम टिकट बुकिङ खुला गर्नेछ । यसवर्ष असोज ६ गते घटस्थापना र १६ गते बडा दसैँ परेको छ ।
प्रतिक्रिया