काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरूले प्रक्रिया देखाउने र काम पन्छाउने प्रवृत्तिमा परिवर्तन ल्याउनुपर्ने बताएका छन् ।
आज निजामती सेवा दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सामान्य कामका लागि पनि धेरै प्रक्रिया देखाउने र काम पन्छाउने प्रवृत्तिमा कर्मचारीले परिवर्तन ल्याउन आवश्यक रहेको बताएका हुन् ।
प्रधानमन्त्रीले आफ्नो शुभकामना सन्देशमा लेखेका छन, ‘सामान्य कामका लागि पनि धेरै प्रक्रिया देखाउने र काम पन्छाउने प्रवृत्तिमा कर्मचारीले परिवर्तन ल्याउन आवश्यक छ । नागरिक सेवा खोज्दै होइन, सेवाले नागरिक खोज्ने बेला आएको छ । टेबल र कुर्चीबाट मात्र सेवा होइन, प्रविधिबाट विस्तार हुनुपर्ने बेला आएको छ ।’
उनले बदलिंदो विश्व परिवेश, नयाँ प्रविधि र जनअपेक्षा बमोजिम निजामती सेवाका कर्मचारीले आफूलाई रुपान्तरण गर्न जरुरी रहेको स्पष्ट पारेका छन् ।
निजामती सेवाको काममै सरकारको प्रभावकारिता निर्भर हुने बताउँदै प्रधानमन्त्री ओलीको भनाई छ ।
पछिल्लो दिनमा निजामती सेवाका आदर्श, मूल्य मान्यता, आचरण, जिम्मेवारी र जवाफदेहिताबाट विचलित देखिएकाले यस सेवाप्रति नागरिकको जनविश्वास घट्दै गुनासो सुनिएको उनले भनेका छन् ।
नागरिकलाई सेवा सुविधा उपलब्ध गराउँदा झन्झट र दुःख दिने कार्य सरकारलाई सह्य नहुने उनको चेतावनी छ ।
प्रधानमन्त्री ओलीले सरकारको उच्च प्राथमिकतामा रहेको निजामती विधेयक संसदबाट पारित हुने क्रममा रहेको पनि शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
‘यस निजामती कानूनले कर्मचारी वर्गको उन्नयनमा मात्र होइन, संघीयताको डेलिभरीमा नयाँ उचाइ दिनेछ,’ ओलीले भनेका छन्, ‘मुलुकमा मानव पुँजी व्यवस्थापन र परिचालनबाट प्रशासनिक संघीयताको एक फड्को तर्ने संघारमा हामी लागेका छौं ।’
सुशासन, पारदर्शिता, जवाफदेहिता र सेवाप्रतिको समर्पण भाव मार्फत राज्यले नागरिकको विश्वास जित्न सक्छ भन्ने कुरा सबैले गहिरो रूपमा आत्मसात गर्न आवश्यक रहेकोमा प्रधानमन्त्री ओलीले जोड दिएका छन् ।
आजको युग प्रविधिमैत्री सुशासनको युग भएको भन्दै प्रधानमन्त्री ओलीले डिजिटल रुपान्तरण, ई–गभर्नेन्स, तथ्यांकमा आधारित नीति निर्माण र सहज एवं पहुँचयोग्य अनलाइन सेवा प्रवाहमार्फत नागरिकलाई छिटो र गुणस्तरीय सेवा उपलब्ध गराउनु निजामती सेवाको प्रमुख दायित्व भएको स्मरण गराएका छन् ।
प्रतिक्रिया