काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमाले गठबन्धन सरकार बिचौलियाले बनाएको आरोप लगाएका छन् ।
आज पोखराको लेकसाइडमा नेपाल उद्योग व्यापार महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले बिचौलियाको धाक र धम्कीका कारण कांग्रेस–एमाले गठबन्धन सरकार बनेको बताएका हुन्
प्रचण्डले भने, ‘कांग्रेस–एमालेको सरकार उनीहरूको बुद्धिले बनेको होइन, यो दलाल र बिचौलियाको धाक र धम्कीबाट बनेको हो । हिजो डरले बनेको, आज पनि डरले बचेको सरकार हो ।’ उनले कांग्रेस–एमालेभित्रका इमानदार साथीहरूले यस्तो सरकारमा बस्नु नुहने पनि बताए ।
सरकारप्रति आक्रामक रूपमा प्रस्तुत भएका प्रचण्डले भने, ‘क्रोनी क्यापिटलिजम र दलाल पुँजीवादको प्रतिनिधित्व अहिले कांग्रेस र एमालेले गरिरहेका छन् । हामी त्यसको वैकल्पिक शक्ति हौं ।’
उनले माओवादी आन्दोलन मध्यम वर्गको पक्षमा भएको बताउँदै आफू मध्यम वर्गको प्रतिनिधि भएको बताए । ‘हामी मध्यम वर्गकै प्रतिनिधि हौं । ऋण मिनाह, सहकारी सुधार र तल्लो वर्गको उत्थान हाम्रो प्राथमिकता हो’ उनले भने ।
प्रतिक्रिया