एमाले विधान महाधिवेशन : दस समूहमा छलफल हुँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दोस्रो विधान महाधिवेशनको आज दोस्रो दिन समूहगत छलफल हुँदैछ ।

ललितपुर, गोदावरीस्थित सनराइज हलमा आज दोस्रो दिन पनि हिजो बाँकी रहेका प्रतिवेदनको प्रस्तुतीकरण हुने छ । अहिले बिहान ८ः०० बजेदेखि महाधिवेशन सुरु भएकाे एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

आज केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा विजय सुब्बा आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

महाधिवेशनको हिजाे पहिलो दिन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

आजै प्रतिनिधिलाई विभिन्न १० समूहमा विभाजन गरी प्रतिवेदनमाथि समूहगत छलफल हुने उनले बताए । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित हिजोदेखि एमालेको दोस्रो विधान महाधिवेशन सुरु भएको छ ।

महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कूल दुई हजार ३४१ जनाको सहभागिता रहेको छ । महाधिवेशन भोलि आइतबारसम्म सञ्चालन हुनेछ ।