संसदीय सुनुवाइ समितिकाे सभापति चयनका लागि निर्वाचन हुँदै

काठमाडौं । संसदीय सुनुवाइ समितिको सभापति चयनका लागि निर्वाचन हुने भएको छ । त्यसका लागि आज दिउँसो २ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय ताेकिएकाे छ । सुनुवाइ समितिकाे निर्वाचन भाेली (शुक्रबार) साँझ ५ बजे निर्वाचन हुँदैछ ।

सुनुवाइ समिति सभापतिको पद यही १० भदौदेखि रिक्त छ । सुनुवाइ समितिका तत्कालीन सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि उक्त पद खाली रहेको छ।

न्यौपाने सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएर राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति भएकी छन् । संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावलीका नियम २५ मा राजीनामा दिएमा सभापति पद रिक्त हुन सक्ने लगायतका प्रावधान छ ।

रिक्त भएको पदमा पुनः पदपुर्ति गर्ने सम्बन्धी व्यवस्था संयुक्त समिति कार्यसञ्चालन नियमावलीमा छैन । तर, संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावलीको नियम ४४ मा संयुक्त समिति कार्यसञ्चालन नियमावलीमा नभएका विषय प्रतिनिधि सभा नियमावली बमोजिम हुने भनिएको छ ।

प्रतिनिधिसभा नियमावलीमा संसदीय विषयगत समितिको सभापति पद रिक्त भएको १५ दिन भित्र निर्वाचन गरिसक्नुपर्ने प्रावधान छ ।