सङ्घीय निजामति सेवा विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौं । सङ्घीय निजामती सेवा विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ । आज बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सङ्घीय निजामती सेवा विधेयक २०८० सर्वसम्मत रूपमा पारित गरेको हो ।

त्यसअघि बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले उक्त विधेयकमाथि छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । 

छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री न्यौपानेले कुलिङ पिरियड, अवकाशको अवधि लगायतका विषयमा सौहार्दपूर्ण रूपमा विधायन समितिमा छलफल भएको र सर्वसम्मत रूपमा अघि बढाइएको बताइन् । उनले प्रशासकीय क्षेत्रको सुधार गर्दै सङ्घीयतालाई बलियो बनाउन निजामती सेवा विधेयक निकै महत्त्वपूर्ण रहेको उल्लेख गरिन् । 

त्यसअघि मङ्गलवार नै बसेको राष्ट्रियसभाको पहिलो बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले सङ्घीय निजामती सेवा विधेयक २०८० सम्बन्धी समितिको प्रतिवेदन पेश गरेकी थिइन् ।