काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा भाेलीदेखि अन्तिम सुनुवाइ हुने भएकाे छ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजनाको अभियोगमा दायर मुद्दाको अन्तिम सुनुवाइ भाेलीदेखि जिल्ला अदालत काठमाडौंमा सुरु हुन लागेकाे हाे।
दुई वर्षदेखि विचाराधीन यो मुद्दामा साक्षी बुझ्ने र बकपत्रको काम सकिएपछि साप्ताहिक पेसी सूचीमा राखिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले १० जेठ २०८० मा ठगी, किर्ते, सङ्गठित अपराध र राज्यविरुद्धको कसुरमा ३० जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
पछि ९ वैशाख र २९ साउन २०८१ मा पूरक मुद्दा दायर भए । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित ३१ जनाविरुद्ध अभियोग छ ।
प्रहरीले १२ चैत २०७९ मा केशव दुलालसहित केहीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । मुद्दा ३२ पटक पेसी चढिसकेको छ, जसमध्ये वैशाख २०८२ यता २२ पटक तोकिएको छ । केही अभियुक्त धरौटीमा छुटेका छन् भने केही थुनामा छन् ।
प्रतिक्रिया