रुपन्देही -३ मा एकीकत समाजवादीबाट घनश्याम भुषालसहित साज जनाकाे नाम सिफारिस

काठमाडौं । रूपन्देही निर्वाचन क्षेत्र नम्बर–३ मा हुने उपनिर्वाचनमा नेकपा (एकीकृत समाजवादी) ले उम्मेदवारका लागि सात जनाको नाम सिफारिस गरेको छ । पार्टीको जिल्ला कमिटी रूपन्देहीको भैरहवामा बसेको बैठकले महासचिव घनश्याम भूसालसहितको नाम सिफारिस गरेको हो ।

भूसाल यही क्षेत्रमा २०७४ सालमा नेकपा (एमाले) बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । लुम्बिनी प्रदेश उपाध्यक्ष कमल भण्डारी, रूपन्देही जिल्ला अध्यक्ष हीराध्वज शाह, प्रदेश कमिटी सदस्य आनन्दप्रसाद गुप्ता, आशा चौधरी, थानेश्वर खरेल र रुपन्देही–१ को सहइञ्चार्ज विजयलक्ष्मी रायको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ ।

जिल्लाले पठाएको नामलाई उम्मेदवार छनोट गर्न बनेको कार्यदलले एक महिलासहित तीनजनाको नाम केन्द्रीय समितिमा सिफारिस गर्नेछ । पार्टीको केन्द्रीय उपमहासचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज मेटमणि चौधरी, केन्द्रीय सचिव तथा प्रदेश सह–इञ्चार्ज सोमप्रसाद पाण्डे, प्रदेश अध्यक्ष अब्दुल हुसेन खाँ, रूपन्देही जिल्ला इञ्चार्ज ई नन्दलाल बन्जाडे र रुपन्देही अध्यक्ष हीराध्वज शाह सदस्य रहेको कार्यदलले तीन जनाको नाम पठाउनेछ ।

कार्यदलले सातै जनासँग छलफल गर्ने र चुनावी रणनीति बुझेपछि मात्रै तीन जनाको नाम सिफारिस गर्ने उपमहासचिव चौधरीेले जानकारी दिए । रुपन्देही–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ ।