काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ । साथै, अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सोमबार बिहान सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागहरूमा वर्षा भइरहेको छ । कञ्चनपुरको दोधारामा पछिल्लो एक घन्टामै ३९.८ मिलिमिटर वर्षा भएको महाशाखाले अद्यवधिक गरेको विवरणमा उल्लेख छ
त्यस्तै, डोटीको गैरामा १५ मिलिमिटर, डडेलधुराको साहुखर्कमा १०.८ मिलिमिटर वर्षा पछिल्लो एक घन्टामै भएको छ। बैतडी, बझाङ लगायतका ठाउँहरूमा पनि वर्षा भइरहेको छ । दिउँसो देशभर साधारणतया बदली रहनेछ ।
कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । सोमबार राति देशभर साधारणतया बदली रहनेछ ।
यस्तै आज राति सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया