काठमाडौं । इजरायली आक्रमणबाट यमनका प्रधानमन्त्री अहमद गालिब अल–रहावी मारिएको यमनका हुथी विद्रोहीहरूले दाबी गरेका छन् । हुथी विद्रोहीहरूका अनुसार गाजा युद्ध सुरु भएपछि यो उनीहरूको सबैभन्दा ठूलो क्षति हो । यस अवधिमा वरिष्ठ अधिकारीको मृत्यु भएको यो पहिलो घटना भएको उनीहरुको दावी छ
समाचार एजेन्सी रोयटर्सले हुथी विद्रोहीहरूले यमनी प्रधानमन्त्री मारिएको बताएको उल्लेख छ । यो दाबीलाई स्वतन्त्रतापूर्वक पुष्टि गर्न नसकिएको पनि समाचारमा उल्लेख ।
शनिबार हुथी विद्रोही समूहको सुप्रीम पोलिटिकल काउन्सिलका प्रमुख महदी अल–मशातले यमनी प्रधानमन्त्री मारिएको घोषणा गरेका छन् । बिहीबार राजधानी साना भएको आक्रमणबारे विस्तृत जानकारी दिइएको छैन, तर यसमा अन्य केही व्यक्ति घाइते भएका उल्लेख गरिएको छ ।
एएफपीका अनुसार, अल–रहावीलाई अन्तिमपटक बुधबार सानामा एक सार्वजनिक कार्यक्रममा देखिएको थियो ।
हुथी विद्रोहीहरूले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘हामी योद्धा अहमद गालिब नासिर अल–रहावीको मृत्युको घोषणा गछौँ । उनका धेरै सहयोगीहरूसहित उनी मारिएका छन्। उनलाई इजरायलले निशाना बनाएको हो ।’
वक्तव्यमा आक्रमणमा घाइते भएका उनका केही सहयोगीहरूको अस्पतालमा उपचार भइरहेको पनि उल्लेख छ । यसअघि इजरायलले सानामा इरान समर्थित हुथी समूहका चीफ अफ स्टाफ, रक्षा मन्त्री र अन्य अधिकारीहरूलाई निशाना बनाएको उल्लेख गरेको थियो । तर महदी मशातको वक्तव्यबाट हुथी विद्रोहीहरूको रक्षा मन्त्री मारिएका मध्ये परेका छन् वा छैनन् भन्ने प्रष्ट हुन सकेको छैन ।
प्रतिक्रिया