गाेरखापत्र जलाउन खाेज्ने सन्ताेष राजावादी पक्राउ

काठमाडौं । राजसंस्था समर्थक सन्तोष राजावादीलाई प्रहरीले पक्राउ गरेकाे छ । आज माइतीघरमा गरेको प्रदर्शनका क्रममा उनलाई पक्राउ गरेकाे हो ।

राजावादीले केही युवाहरूसहित माइतीघर मण्डलामा पुगेर आजको गोरखापत्र दैनिक जलाउने प्रयास गरेका थिए । तर, प्रहरीले तत्कालै नियन्त्रणमा लिएपछि उनको प्रयास सफल भएन । उनलाई प्रहरीले पक्राउ गरेर सिंहदरबार वृत्तमा पुर्‍याएको छ । प्रहरी नायब उपरीक्षक मधुकुमार थापाको कमाण्डमा १० जना प्रहरीहरू त्यहाँ खटिएका थिए ।

गोरखापत्र दैनिकको पहिलो पृष्ठमा तीजको व्रतसम्बन्धी सामग्री प्रस्तुत गरिएको छ । ‘निराहार व्रतले स्वास्थ्यमा प्रतिकुल असर’ शीर्षकको समाचारले हिन्दू सनातन धर्मप्रति अनास्था फैलाउन खोजेको भन्दै सन्तोषको समूहले विरोध गरेको हो । सरकारी सञ्चारमाध्यमले नै हिन्दू धर्मविरोधी लेख प्रकाशन गरेको उनीहरूको आरोप छ ।

धादिङ घर भएका सन्तोषकुमार सिलवाल उर्फ सन्तोष राजावादी विभिन्न लफडामा पटक-पटक पक्राउ पर्ने र छुट्ने गरेका छन् । उनी यसअघि तीनकुनेको आन्दोलनलाई लिएर पक्राउ परेका थिए । जिल्ला अदालतले उनलाई एक लाख धरौटीमा रिहा गरेको छ ।

सन्तोषले ‘आज माइतीघरमा १ बजे भेटौं’ भन्दै फेसबुकमै सूचना हालेका थिए ।

उनले लेखेका छन्, ‘दलालहरू हिन्दूहरुको चाडपर्व आयो कि भुक्न थालिहाल्छ्न, अन्य धर्मावलम्बीहरूको चाडपर्वमा चुइँक्क बोल्दैनन् । गोरखापत्रको अफिसको गेटमै गएर पत्रिका जलाउन मन थियो तर सिंहदरबारभित्र रहेछ । त्यसैले माइतीघरमा जम्मा भएर गोरखापत्र जलाऔ र यो लेख्नेलाई कडा कारबाहीको माग गरौँ ।’