काठमाडौं । हमासले बेपत्ता बनाइएका बिपिन जोशीका आमा र बहिनीले इजरायली राष्ट्रपतिलाई भेटेका छन्।बिपिनको रिहाइका लागि पहल गरिदिन मागसहित उनीहरूले जेरुसेलममा राष्ट्रपति आइज्याक हर्जोगसँग भेटेका हुन् ।
भेटमा आमा पदमा जोशी र बहिनी पुष्पासँगै नेपालका इजरायलस्थित राजदूत धनप्रसाद पण्डित पनि सहभागी थिए । भेटका क्रममा आमा पदमाले आफ्ना छोरा विपिनको शीघ्र रिहाइका लागि अनुरोध गरेकी थिइन् । उनले छोरा निर्दोष विद्यार्थी भएको उल्लेख गर्दै मानवीय दृष्टिले पहल गर्न आग्रह गरेकी थिइन् ।

त्यस्तै बहिनी पुष्पाले पनि राष्ट्रपति समक्ष विपिनको रिहाइका लागि व्यक्तिगत अपिल गर्दै अन्तर्राष्ट्रिय प्रयासलाई अझ बलियो बनाउन आग्रह गरिन् । राजदूत पण्डितले पनि राष्ट्रपति समक्ष विपिनको अवस्थाबारे निरन्तर पहल गर्न विशेष अनुरोध गरे ।
जवाफमा राष्ट्रपति हर्जोगले गत ७ अक्टोबर २०२३ मा हमासले बन्धक बनाएको स्मरण गर्दै विपिनलाई इजरायलले आफ्नै नागरिकझै अनुभव गरिरहेको बताए । उनले बिपिनसहित सबै बन्धकहरूको रिहाइका लागि इजरायली सरकार निरन्तर प्रयासरत रहेको बताए । यस विषयमा नेपाल सरकार पनि सम्बन्धित अरब मुलुकहरूसँग पुनः संवादमा सक्रिय हुन सके थप प्रगति सम्भव हुने विश्वास व्यक्त गरे ।
त्यस्तै उनीहरूले इजरायली संसदका अध्यक्ष अमिर ओहानासँग पनि भेटवार्ता गरेका थिए । नेपाल–इजरायलबीचको न्यानो मित्रवत् सम्बन्धलाई स्मरण गर्दै विपिनप्रति गहिरो चासो रहेको उनले बताएका थिए ।
उनले इजरायल सरकार बिपिनसहित सबै बन्धकहरूको मुक्तिका लागि भरमग्दुर प्रयासरत रहेको र हालै नेपालका समकक्षीसँग जेनेभामा भएको छलफलमा पनि विपिनको प्रसंग उठाइएको बताए ।
विपिनको रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी हो प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले विपिन जोशीका परिवारको साथमा सरकार रहेको बताएका छन् । आज बिहान उनले विपिन सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावासमार्फत निरन्तर संवाद गरिरहेको जनाएका हुन् ।
प्रधानमन्त्री ओलीले इजरायलमा हमास समूहले बन्धक बनाएका विपिन जोशीको शीघ्र रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी भएको बताए ।
उनले सरकार विपिन सुरक्षालाई प्राथमिकता दिँदै हर सम्भव पहलमा जुटिरहेको जानकारी गराए । यसअघि मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति र इजिप्टका राष्ट्रपतिसँग आफूले पनि यस विषयमा ध्यानाकर्षण गर्दै फोन संवाद गरेको जानकारी दिए । उनको रिहाइका लागि आमा र बहिनी अहिले इजरायलमा छन् । त्यहाँ उनीहरुले राष्ट्रपति लगायतका विभिन्न संस्थालाई भेटेर विपीनको रिहाइको माग गरेका छन् ।
प्रतिक्रिया