काठमाडौं । कैलाली जिल्ला कारागारमा शुक्रबार मध्यरातमा भएको झडपमा परी एक कैदीको मृत्युपछि उत्पन्न तनावपूर्ण अवस्थालाई एर केन्द्र र प्रदेश सरकार गम्भीर बनेको छ ।
घटनाको समीक्षा र आगामी रणनीति तय गर्न नेपाल सरकारका गृहमन्त्री रमेश लेखक र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबीच आज आकस्मिक भेटघाट भएको छ ।
भेटमा कारागारभित्रको भयावह अवस्था, सुरक्षा व्यवस्थापनमा भएको गम्भीर चूक, प्रदेशको समग्र शान्ति सुरक्षा र विपद् व्यवस्थापनका विषयमा महत्वपूर्ण छलफल भएको जनाइएको छ ।
शुक्रबार मध्यरातमा ‘नन्दु सरकार’ भनेर चिनिने नवीन रावलको समूहले अर्को समूहका कैदीहरू सुतिरहेको ब्लकमा पर्खाल फोडेर पसी खुकुरी, रड र चक्कुले अन्धाधुन्ध आक्रमण गरेको थियो ।
उक्त सांघातिक हमलामा ४० वर्षीय कैदी भरत चौधरीको मृत्यु भएको छ भने करिब ४७ जना घाइते भएका छन्।घटनाको मूल जड ‘नन्दु सरकार’ र जयन्द्र शाह समूहबीच लामो समयदेखि चल्दै आएको गुण्डागर्दी र दुष्मनी हो । जुन २०७८ मा भएको भूपेन्द्र बडूवाल हत्याकाण्डसँग समेत जोडिएको छ ।
कारागार प्रशासन र जिल्ला सुरक्षा संयन्त्रको गम्भीर लापरबाहीका कारण घटना भएको स्पष्ट देखिन्छ । आक्रमण हुनुभन्दा एक दिनअघि बिहीबार मात्रै दुई समूहबीच झडप हुँदा पाँच जना घाइते भएका थिए ।
पटक–पटक तनाव हुँदा र सम्भावित हिंसाको सूचना पाउँदा समेत प्रशासनले सतर्कता अपनाएको देखिएन, जसको परिणाम स्वरूप कारागारभित्रै रक्तपातको स्थिति बन्यो । शुक्रबार रातिको घटनापछि कैलाली कारागार कैदीबन्दीको नियन्त्रणमा छ । उनीहरूले भित्रबाट गेटमा ताला लगाएर सुरक्षाकर्मीलाई प्रवेश गर्न दिएका छैनन् ।
उता सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा नेपाल प्रहरीका डीएसपी राजकुमार सिंह, सशस्त्र प्रहरीका डीएसपी जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य सचिव रहेको छानबिन समिति बनेको डीएसपी राज कुमार सिंहले जानकारी दिए ।
उक्त समितिले घटनाको कारण पत्ता लगाएर १० दिनभित्र प्रतिवेदन दिनुपर्ने कार्यादेश राखिएको छ ।
मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले कैलाली कारागारमा शुक्रबार राति भएको घटनामा गम्भीर लापरबाही भएको कुरालाई औंल्याएको छ ।
मानव अधिकार आयोगको टोलीले कारागार कार्यालयको निरीक्षण गर्दै कारागार प्रशासन र फितलो सुरक्षाका कारण कारागारभित्र हिंसात्मक घटना भएको जनाएको हो ।
मानव अधिकार आयोग धनगढीका प्रमुख प्रकाशदत्त भट्टले घटनापछि आज दिउँसो कारागारको निरीक्षण गरिएको बताए । निरीक्षणका क्रममा कारागार प्रशासनका प्रमुख विदामा भएको कारण समन्वयको अभाव, आन्तरिक सुरक्षामा लापरवाही, क्षमता भन्दा बढि कैदीबन्दी र कैदीबन्दीको स्थान्तरण पारदर्शी हिसाबले नभएको लगायतका कारणले घटना हुन पुगेको देखिएको बताएका हुन् ।
प्रतिक्रिया