काठमाडौं । पूर्वराष्ट्रपति विद्दादेवी भण्डारीले अब थापागाउँबाट राजनीतिक गतिविधि गर्ने भएकी छिन् ।उनले जुन घरबाट ३४ वर्षअघि मदन भण्डारीले चुनाव जिते, अब विद्याले सम्पर्क कार्याल बनाउने भएकी हुन् ।
नेकपा एमालेले पार्टी सदस्यता नवीकरण रोकेर सक्रिय राजनीतिमा फर्किने बाटो बन्दा गरेपछि विकल्पकाे रुपमा पूर्वराष्ट्रपति भण्डारीले आफ्नो राजनीतिक गतिविधि अघि बढाउने भएकी हुन् ।
एमालेले सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि आफू ब्याक नहुने अडान राखेकी पूर्वराष्ट्रपति तथा एमाले पूर्वउपाध्यक्ष भण्डारीले सम्पर्क कार्यालय नै खोलेर आफ्नो प्रचारलाई अघि बढाउन लागेको भंगाल स्रोतले जनाएको छ ।
भण्डारीले बानेश्वरको थापागाउँ हाइटमा सम्पर्क कार्यालय स्थापनाका लागि घर समेत भाडामा लिइसकेको बताइएको छ । एमालेले च्यासलको ढोका बन्द गरेपछि भण्डारीको पाइला राजनीतिक गतिविधिकै लागि थापागाउँतिर मोडिएको उनीनिकट नेताहरुले बताएका छन् ।
अब उनी मदन भण्डारी फाउन्डेसन मार्फत देशभरी नेता कार्यकर्तासँग जोडिने तयारीमा छिन् । संयोग मान्नुपर्छ, विद्याले अहिले सम्पर्क कार्यालय राख्नको लागि रोजेको घर २०४८ सालको चुनाव मदन भण्डारीले प्रचारका लागि प्रयोग गरेका थिए। भण्डारीले यहि घरबाट २०४८ मा काठमाडौं १ बाट तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेका थिए ।
केही दिनमै सम्पर्क कार्यालयको उद्घाटन गर्ने तयारीस्वरुप अहिले सरसफाइको काम चलिरहेको छ । मदनले मात्रै होइन, विद्याले पनि २०५१ सालको चुनाव प्रचार प्रसारको लागि त्यही घर गरेकी थिइन् ।
त्यसैले अहिले विद्याले त्यही घरलाई राजेर घरधनीसँग कुरा फिक्स गरेर सरसफाइको काम भइरहेको उनीनिकट नेताले बताए ।
ती नेताले भने, ‘त्यो घरमा उहाँको भावना र लिगेसी पनि जोडिएको छ । उहाँलाई कसैले रोकेर रोकिन्नुहुन्न । २,३ दिनमै औपचारिक रुपमा उद्घाटन भएपछि देशभर आफ्नो अभियानका लागि निस्कनुहुन्छ ।’
फाउन्डेसनले जननेता मदन भण्डारीको हीरक जयन्ती मनाउने तयारी गरेको छ र बागमतीका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलको संयोजकत्वमा मूल समिति समेत गठन भएको छ । मदनको स्मृतिमा ‘हीरक महोत्सव’ मनाउन समिति बनाइएको हो ।
एमालेले राष्ट्रपति भइसकेको व्यक्ति सम्मानित ठाउँमै रहनुपर्ने भन्दै पार्टीमा क्रियाशील हुन रोकेपछि पत्रकार सम्मेलन गरेरै आफ्नो सदस्यता कसैले खान नसक्ने जवाफ दिएकी थिइन् ।
उनले भनेकी थिइन्, ‘अहिले पार्टी सदस्यको कुरा हो। पार्टी सदस्य भएकै ४५ वर्ष भइसकयो । सदस्यता हुँदा मदनभण्डारी कोसी–सगरमाथा इन्चार्ज हुँदा लिएको हुँ। कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता फाल्न सक्दैन ।’
प्रतिक्रिया