काठमाडौं । काठमाडौं उपत्यकामा गुण्डागर्दीहरुकाे चहलपहल बढ्न थालेपछि प्रहरीले सकृयता बढाएकाे छ । रातभर प्रहरीले गुण्डाविरुद्ध अपरेसन चलाएको थियो ।
सोक्रममा महाराजगञ्जस्थित साम्बला होटलको आठौँ तलाबाट गुण्डा नाइके चक्रे मिलनसहित ४८ जनालाई पक्राउ गरिएकाे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए । त्यहाँ चक्रे मिलनको जन्मदिन मनाउन उनीहरू जमघट भएको बुझिएको र साेही क्रममा उनीहरुलाई पक्राउ गरिएकाे हाे।
उनीहरू अर्का गुण्डा नाइके दीपक मनाङेको प्रभाव क्षेत्र मानिने ठमेल क्षेत्रमा जाने तयारीमा रहेको प्रहरीलाई सूचना पुगेको थियो । ठमेल एलओडीमा चक्रे मिलनको टोली आउने तयारी र त्यहाँ मनाङेका समर्थक भेला भएपछि मुठभेडको सम्भावनासमेत बढेको थियो ।
‘विभिन्न अपराधिक गतिविधिमा संलग्न भएकाहरूको अवाञ्छित गतिविधि बढेपछि हामीले नियन्त्रणमा लिएका हौँ । पक्राउ परेकाहरूको क्रिमिनल ट्रयाक रेकर्ड आज बिहानदेखि केलाउन सुरू गरेका छौँ । त्यहीअनुसार कारबाही अघि बढ्छ’, आचार्यले जानकारी भने।
काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टीमले गुण्डाविरुद्ध संयुक्त अपरेसन चलाएको थियो ।
हिजोमात्र सानुभाइ भनिने नुवाकोट ककनीका पटके गुण्डा युवराज गुरुङलाई ठमेलबाट पक्राउ गरेको थियो । नगरकोट दोहोरी साँझमा अत्याधिक मदिरा सेवनपछि दुई पक्षबीच वादविवाद हुँदा प्रहरी पुगेको थियो ।
त्यसक्रममा अर्का पक्षका नुवाकोट सूर्यगढी नगरपालिका-२ का ३० वर्षीय रवीन्द्र गुरुङ र पाँचथर फिदिम नपा-१० का २६ वर्षीय दिलकुमार तुम्बाफो पनि पक्राउ परेका छन् । उनीहरूले प्रहरीमाथि पनि दुर्व्यवहार गरेका थिए ।
प्रतिक्रिया