वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं ।वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१६ बस्ने मकवानपुर मनहरी गाउँपालिका–५ घर भएका ३१ वर्षीय अशोक मोक्तान, काठमाडौं तार्केश्वर नगरपालिका–४ बस्ने सल्यान कपुरकोट गाउँपालिका–३ घर भएका ३२ वर्षीय टेक बहादुर घर्ती मगर र भक्तपुर मध्यपुर थिमी नगरपालिका–३ बस्ने तनहुँ व्याँस नगरपालिका–४ घर भएका ४५ वर्षीय बिमल आले रहेका छन् । 

पक्राउ मध्ये अशोकले युएइ पठाइदिन्छु भन्दै ६ जना पीडितहरुबाट ११ लाख ४० हजार रूपैयाँ, टेक बहादुरले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ८ हजार रूपैयाँ र बिमलले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा पक्राउ गरिएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अशोकलाई काठमाडौं महानगरपालिका–३ बाट तथा टेकबहादुरलाई टोखा नगरपालिका–७ बाट र बिमललाई काठमाडौं महानगरपालिका–२६ बाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।