काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू वर्तमान सरकार परिवर्तन गर्ने खेलमा रहेको प्रष्टीकरण दिएका छन् ।
आज विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले मुलुकको समस्या समाधानका लागि आफूले अन्य दलको नेताहरूलाई भेट गरेको, तर सरकार परिवर्तनका लागि कुनै छलफल नगरेको जिकिर गरेका हुन् ।
उनले पार्टीको संसदीय दलको नेता परिवर्तन गर्न संख्या चाहिने र आफूहरूसँग त्यो संख्या नभएको बताए । कोइरालाले वर्तमान सरकार जनअपेक्षा अनुसार काम गर्न नसकेपनि अर्को सरकार बन्ने सम्भावना नरहेकाले वर्तमान गठबन्धनले २०८४ को निर्वाचन गराउने दाबी समेत गरे । नेता कोइरालाले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्कन नहुने आफ्नो स्पष्ट धारणा रहेको बताउँदै संविधानले यस विषयमा नबोलेकोले संविधान संसोधन आवश्यक रहेको जिकिर गरे ।
कोइरालले वर्तमान गठबन्धन सरकारले संविधान संशोधनलाई प्राथमिकतामा राखेको भएपनि अहिलेसम्म संविधान संशोधनका लागि कार्यदल नबनाएको गुनासो गरे । निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियड अनिवार्य राख्नु पर्ने बताउँदै उनले यसमा राजनैतिक दलका शीर्ष नेताहरूले चलखेल गरिरहेको आरोपसमेत लगाए ।
प्रतिक्रिया