हराएको रुसी जहाज दुर्घटना भएको पुष्टी

मस्को । रुसको सुदूर पूर्वी क्षेत्रमा ४९ जना सवार यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको खुल्न आएको छ । स्थानीय समाचार एजेन्सीहरूका अनुसार दुर्घटनामा कोही पनि जीवित छैनन् ।

रुसको नागरिक रक्षा, आपतकालीन तथा विपद् राहत मन्त्रालयले बिहीबार जनाएअनुसार साइबेरियास्थित ‘अंगारा’ एयरलाइनद्वारा सञ्चालित एन–२४ विमान चीनसँग सिमाना जोडिएको अमुर क्षेत्रको टिन्डा सहरमा अवतरण गर्ने क्रममा राडारबाट सम्पर्कविहीन भएको थियो ।

रुसी उद्धारकर्मीहरूले विमानको भग्नावशेष जलिरहेको अवस्थामा फेला पारेका छन् । इन्टरफ्याक्स समाचार एजेन्सीले विमानका टुक्राहरू अमुर क्षेत्रमा भेटिएको जनाएको छ ।

मन्त्रालयले टेलिग्राममार्फत भनेको छ, ‘रुसको नागरिक उड्डयन प्राधिकरण ९रोसाभियात्सिया० द्वारा सञ्चालित एमआई–८ हेलिकप्टरले विमानको जलिरहेको भग्नावशेष देखेको छ ।’

टास समाचार एजेन्सीका अनुसार, खराब मौसमका कारण कम दृश्यता ९भिजिबिलिटी० भएका बेला अवतरण गर्ने क्रममा चालक दलबाट भएको त्रुटि दुर्घटनाको सम्भावित कारण हुन सक्छ ।

विमानमा ५ बालबालिकासहित ४३ जना यात्रु र ६ जना चालक दलका सदस्यहरू सवार थिए । यद्यपि, आपतकालीन मन्त्रालयले भने यो संख्या करिब ४० रहेको उल्लेख गरेको छ ।

रुसका दुर्गम क्षेत्रहरू, विशेषगरी आर्कटिक र सुदूर पूर्वमा, जहाँ मौसम प्रायः अत्यन्तै खराब रहन्छ, हवाई यात्रा जोखिमपूर्ण मानिन्छ । पछिल्ला वर्षहरूमा रुसको उड्डयन सुरक्षा मापदण्डमा सुधार आए पनि दुर्गम क्षेत्रहरूमा पुराना विमानहरू दुर्घटनामा पर्ने घटनाहरू भइरहन्छन् ।

यसअघि सन् २०२१ मा पनि रुसको सुदूर पूर्वमा एउटा पुरानो एन्टोनोभ एन–२६ विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो । सोही वर्षको जुलाईमा कामचाट्कामा भएको अर्को दुर्घटनामा एन्टोनोभ एन–२६ विमानमा सवार सबै २८ जनाको ज्यान गएको थियो ।