काठमाडौं, ५ साउन । रसुवा जिल्लामा बाढीले पुर्याएको भौतिक संरचनाहरुको पुनर्निर्माणमा चीनले सहयोग गर्ने भएको छ ।
उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्तामा सो प्रतिबद्दता ब्यक्त भएको हो ।
सिड्काका अध्यक्ष सियाओदोङ्गले भौतिक संरचनाहरुको पुनर्निर्माणलाई आवश्यक सहयोग गर्ने र भन्सार प्रकृया छिटो सञ्चालन हुने गरी काम गर्ने जानकारी दिए ।
अर्थ मन्त्रालयमा भएको सो भेटका क्रममा सिड्काका अध्यक्ष सियाओदोङ्गले बाढीपछि नेपाल सरकारले उद्धार र बेपत्ता भएकाहरुको खोजीमा देखाएको सकृयता र सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए।
अर्थमन्त्री पौडेलले विपद् लगत्तैको पुनर्निर्माण नेपालको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै भौतिक संरचनाहरुको पुनर्निर्माणप्रति देखाएको तत्परता, चासो र प्रतिबद्धताका लागि चिनीयाँ पक्षलाई धन्यवाद दिए ।
‘आयात–निर्यातका लागि मात्र होइन, राजस्वका हिसाबले पनि रसुवा नाका महत्वपूर्ण छ । त्यसैले पुनर्निर्माणलाई छिटो अघि बढाउँन जरूरी छ,’ अर्थमन्त्री पौडेलले भने ।
प्रतिक्रिया