एमालेकाे पाेलिटब्युराे बैठक बस्दै, सचिवालय बैठककाे प्रस्तावलाई अनुमाेदन गर्ने

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । यसअघि बिहान ११ बजे बोलाइएको थियो । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

बिहीबार राति त्यहीँ सम्पन्न सचिवालयको ४९औँ बैठक लम्बिएका कारण आजको बैठकको समय सारिएको एक नेताले बताए ।
बिहीबारको बैठकले १५ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव पारित गरेको छ । उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि छलफल हुँदा ७० वर्षको उमेर हद र कार्यकारी पदमा २ कार्यकाल रहन पाउने व्यवस्था आगामी कार्यकालमा प्रभावित नहुने सहमति भएको थियो ।

पोलिटब्युरो बैठकमा पुनः ती विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी कामको जिम्मेवारी दिने, नदिनेबारे बिहीबार नै विषय प्रवेश भएको भन्दै गौतमले पोलिटब्युरोमा पनि त्यसबारे चर्चा हुने बताए ।

हिजाेको सचिवालय बैठकका वक्ताहरुले पूर्वराष्ट्रपति भण्डारी पार्टी काममा फर्किनेबारे पार्टीलाई औपचारिक जानकारी नदिएको भन्दै जिम्मेवारी दिनेबारे अहिल्यै हतारमा निर्णय गर्न नहुने धारणा राखेका थिए । उनका अनुसार त्यसबारे पार्टी बैठकमा त्यसबारे फेरि छलफल हुनेछ ।