मेराे जिम्मेवारीबारे पार्टीले निर्णय गर्छ: विद्दा भण्डारी

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो जिम्मेवारीबारे केन्द्रीय कमिटीले निर्णय गर्ने बताएकी छन् । एमालेमा आफू सक्रिय भइसकेको भन्दै भण्डारीले आफूलाई कुन जिम्मेवारी दिने भन्नेबारे सोही कमिटीको बैठकले तय गर्ने स्पष्ट पारेकी छन् । मदन भण्डारी फाउन्डेशनले आयोजना गरेकाे पत्रकार सम्मेलनमा भण्डारीले महाधिवेशन नभएसम्म केन्द्रीय कमिटी नै उपल्लो तहको नेतृत्व भएको बताइन् ।

उनले एमालेको विधान महाधिवेशनमा भाग लिने विषय सिन्द्धान्ततः दशौं महाधिवेशनका प्रतिनिधिले नै भाग लिने भए पनि केन्द्रीय सदस्य र प्रतिनिधि नयाँ थपिएकाले पार्टीले यसबारे निर्णय गर्ने बताइन् । दशौं महाधिवेशनमा भाग नलिएका व्यक्ति पनि केन्द्रीय सदस्य र प्रतिनिधि मनोनीत भएको भन्दै मनोनयबाट आफू त्यसमा सहभागी हुन सक्ने तर्क पूर्व राष्ट्रपतिले गरेकी छन् ।

‘संसद विघटनको कुराले मलाई पछ्याइरह्यो’
पूर्व राष्ट्रपति भण्डारीले संसद विघटन तत्कालीन सरकारको निर्णय कार्यान्वयन गरिएको बताएकी छन् । भण्डारीले आफ्नो कार्यकालमा दुईपटक संसद् विघटन भएको विषयले आफूलाई पछ्याइरहेको बताएकी छन् । ‘संसद विघटन त्यसअघि पनि भएको इतिहास नेपालमा छ’, उनको भनाइ थियो, ‘दबाब होइन, संवैधानिक विधि र व्यवस्थाअनुसार मन्त्रिपरिषद्को सिफारिसमा संसद् विघटन गरेकी हुँ ।’ भण्डारी राष्ट्रपति भएको बेला दुई पटक संसद् विघटन भएको थियो । २०७७ पुस ५ र २०७८ जेठमा संसद् विघटन भएको थियो । सोही विषयमा सोधिएको प्रश्नमा उनले यस्तो जवाफ दिएकी हुन् ।