लिङ्देनकाे मनलाग्दी विरुद्ध निर्वाचन आयाेग पुगे सुवेदी

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन आयाेगबाट निकालेपछि त्यसकाे बिराेधमा नेताहरु निर्वाचन आयाेग गुहार्न पुगेका छन् ।

राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदी आइतबार निर्वाचन आयोग पुगेका हुन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन समितिको अध्यक्षबाट हटाएपछि आक्रोशित उनी लठ्ठी टेक्दै निर्वाचन आयोग पुगेका हुन् । उनले आफूलाई विधान विपरीत हटाइएको भनेर आयोगलाई जानकारी गराउने बताइएको छ । उनीसँगै राप्रपाका महामन्त्री धवलशमशेर राणालगायतका नेता कार्यकर्ताको पनि सहभागिता रहेको छ ।

शनिबार बसेको राप्रपा इतर समूहको बैठकले लिङ्देनको निर्णयको विरोध गर्दै यस विरुद्ध निर्वाचन आयोगमा जाने निर्णय गरेको थियो । राप्रपा अध्यक्ष लिङदेनले सुवेदी पार्टीमा नरहेको निष्कर्ष निकाल्दै अनुशासन समितिबाट उनलाई हटाएका थिए । उनको स्थानमा रोशन कार्कीलाई अध्यक्ष बनाइएको छ । तर सुवेदीले आफू राप्रपाबाट अलग नभएको दाबी गर्दै अध्यक्षको कदमविरुद्ध आयोगमा उजुरी गर्न पुगेका हु् ।

सुवेदीले राजसंस्था पुनःस्थापनाका लागि गठिन संयुक्त जनआन्दोलन समितिको नेतृत्व लिए लगत्तै पत्रकार सम्मेलनमा राप्रपाको साधारण सदस्यता त्यागेको घोषणा गरेका थिए । तर, उनले राप्रपामा लिखित राजीनामा भने बुझाएका छैनन् । उनले सार्वजनिकरुपमा गरेको घोषणालाई नै राप्रपाले पार्टी परित्यागको रुपमा लिएको छ । राप्रपाको विधान अनुसार अनुशासन समितिको अध्यक्ष नियुक्त गर्दा पार्टी अध्यक्षले केन्द्रिय समिति वा कार्यसम्पादन समितिमा प्रस्ताव लैजानुपर्छ ।

उक्त प्रावधानको उल्लंघन गरेको भन्दै संस्थापनइतर खेमाले निर्वाचन आयोग गुहार्ने निर्णय गरेको थियो । सगुन लावतीलाई प्रवक्ताबाट हटाउने निर्णयको पनि यो खेमाले विरोध जनाएको छ ।लठ्ठी टेक्दै निर्वाचन आयोगमा आएका सुवेदीले पत्रकारसँग बोल्न मानेनन् । उनले भित्रबाट काम सकेर निस्किएपछि प्रतिक्रिया दिने बताए । ‘हामी निस्किएपछि बोल्छौं, तपाईंहरू पनि नियममा हिँड्नुस,’ उनले पत्रकारलाई भने ।