काठमाडौं । सिन्धुलीमा २०६० साल पुस ६ गते राति धारिलो हतियार प्रयोग गरि एक दम्पतीको हत्या गरेर फरार भएका एक व्यक्ति २२ वर्षपछि पक्राउ परेका छन् ।
दुधौली नगरपालिका–१३ का ४५ वर्षका रत्नबहादुर कार्की र दुर्गामाया कार्कीको हत्या गरी फरार भएका उदयपुरको कटारीका केदारसिंह थापालाई प्रहरीले २२ वर्षपछि दाङको लमही नगरपालिका–९ जलकुण्डीबाट पक्राउ गरेको हो ।
विभिन्न ठाउँमा लुकेर बसेका उनलाई नेपाल प्रहरीले विशेष सूचनाका आधारमा गत असार २३ गते पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।
सुवेदीका अनुसार प्रहरीको निरन्तर अनुसन्धानपश्चात् घटनामा संलग्न भनिएका प्रतिवादी थापालाई लुकिछिपि बस्दै गरेको अवस्थामा पक्राउ गरिएको हो ।
घटनापछि मृतकका छोरा दुर्गाबहादुर कार्कीले थापाविरुद्ध किटानी जाहेरी दिएका थिए । थापा नातामा कार्की दम्पतीका भान्जा हुन् ।
मामा–भान्जाबीचको आर्थिक लेनदेनको विषयले हत्या भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । थापा केही वर्ष विदेशमा बसेर आएका थिए । मामा–भान्जाबीचमा जग्गा किन्ने विषयमा आर्थिक लेनदेन भएको थियो तर पछि मामाले जग्गा पास गर्न नमानेपछि हत्या भएको प्रहरीको भनाइ छ ।
अभियुक्त थापालाई जिल्ला अदालत सिन्धुलीबाट म्याद गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रतिक्रिया