लहान । सुनचाँदी , हिरामोती खरिदमा सरकारले लगाएको बिलाशिता कर फिर्ताको माग राखेर अनिश्चितकालका देशभरका सुनचाँदी पसल बन्द गर्ने ब्यवसायीको निर्णय अनुसार केहीदिनयता देशभरका सुनचाँदी पसल बन्द छन् । तर सिरहाको लहानमा सुनचाँदी ब्यवसायीकै नेताले निर्णय उल्लँघन गर्दै आफ्नो सुनचाँदी पसल खोलेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ ।

उधोग वाणिज्य सँघ सिरहाका अध्यक्ष समेत रहेका नेपाल सुनचाँदी ब्यवसायी महासँघका केन्द्रीय सदस्य बिकाश शारडाले आफ्नो सुनचाँदी गहना पसल खोलेको भनेर आलोचना भएको हो । लहान बजारमा रहेको शारडाको सुनचाँदी पसल बिकाश ट्रेडर्श खोलेको आरोप लागेको हो ।
तर सामाजिक सञ्जालमा लगाईएको आरोपको लहान सुनचाँदी ब्यवसाय सँघले खण्डन गरेको छ । लहान नगर सुनचाँदी ब्यवसाय सँघका वरिष्ठ उपाध्यक्ष बिन्देश्वर साहले विज्ञप्ति मार्फत उक्त आरोपको खण्डन गरेका हुन् । साह बजार अनुगमन समितीका संयोजक पनि हुन् ।
विज्ञप्तिमा भनिएको छ – ‘ अनुगमन समितीका संयोजक विन्देश्वर साहलाई जानकारी गराएर पसलको कर बुझाउनका निमित्त पसल खोलिएको सबैलाई जानकारी थियो । तर केही अपरिपक्व ब्यक्तिले सामाजिक सञ्जाल मार्फत गलत सम्प्रेषण गरेकोप्रती सँघको ध्यानाकर्ष भएको छ । ‘
विज्ञप्तिमा अगाडी भनिएको छ – ‘ सम्प्रेषण गरिएको उक्त भिडियो तथ्यहीन भएकाले यस कार्यप्रती घोर भत्सर्ना गर्दछ । ‘
प्रतिक्रिया