विश्व जनसंख्या दिवस २०२५ र नेपालमा महिला स्वास्थ्य ढाँचामा आएको परिवर्तन

प्रकाश रेग्मी

पृष्ठभूमि

सन् १९८७ मा विश्वको जनसंख्या पाँच अर्ब नाघेको अवसरस्वरुप संयुक्त राष्ट्र संघले  सन् १९८९ देखि हरेक वर्ष जुलाई ११ मा परिवार नियोजन, प्रजनन् स्वास्थ्य, लैङ्गिक समानता र जनसंख्याको वातावरणमा प्रभाव लगायत विश्वका जनसंख्याका अन्य समस्याहरू बारेमा जागरुकता जगाउन यो दिवस मनाउने निर्णय गरेको हो।

जुलाई ११ मा मनाइने विश्व जनसंख्या दिवस २०२५ को विषयवस्तु ‘मानिसहरूमा लगानी: प्रजनन् स्वास्थ्य र अधिकारलाई प्राथमिकता’ लागायत आर्थिक अनिश्चितता, लैङ्गिक असमानता र जलवायु संकटजस्ता चुनौतीहरूलाई सम्बोधन गर्ने कुरा उल्लेख।

प्रजनन् स्वास्थ्य र जनसंख्या गतिशीलता एकअर्कासँग समन्धित विषय हुन्। प्रजनन् स्वास्थ्यमा सुधार, विशेष गरी परिवार नियोजनमा हुने  पहुँचले जनसंख्या वृद्धिदर र समग्र जनसंख्या संरचनालाई असर गर्छ। यसका साथै जनसंख्याको आकार र घनत्वले प्रजनन स्वास्थ्य सेवाहरूको  पहुँच र गुणस्तरलाई असर गर्न सक्छ।

नेपालको जनसंख्या ढाँचा

नेपालको जनसंख्या निरन्तर बढ्दो छ। तर जनसंख्या बढदो दरमा भने विभिन्न दशकहरूमा भिन्न-भिन्न दर छ। युवा उमेरको संरचना विदेशिने र देशमा रहेका युवा सहरतर्फ सर्ने  प्रवृत्ति अत्यधिक छ। यसका अलावा पहाडबाट तराई क्षेत्रमा बसाइँ सर्ने क्रम पनि अत्यधिक छ।

अहिले  नेपालको जनसंख्या वृद्धिदर गएको ८० वर्षमा सबैभन्दा कम बिन्दुमा पुगेको छ। नेपालको जनगणना २०७८ अनुसार औसत वार्षिक वृद्धि ०.९२ प्रतिशतमा झरेको छ। यो विगतका दशकहरूको तुलनामा उल्लेखनीय गिरावट हो। पछिल्लो जनगणना तथ्याङ्कले लगभग २ करोड ९२ लाख जनसंख्या रहेको देखाउँछ।

नेपालमा मातृ स्वास्थ्य

सन् १९९० मा नेपालमा विशेष गरी प्रजनन उमेर (१६-४९) का महिलाहरूको लागि, मातृ विकारहरू मृत्युको प्रमुख कारण थिए, जुन यस उमेर समूहमा कुल मृत्युको लगभग १६ प्रतिशत हो। यी मातृ विकारहरू गर्भावस्थाको समयमा वा गर्भपतनको ४२ दिनभित्र हुने मृत्यु हुन्। एक स्रोतका अनुसार प्रतिएक लाख जन्ममा ८३० जना आमाहरूको मृत्यु हुने गर्दथ्यो।  त्यतिबेला यो नै प्रजननयोग्य महिलाहरूको प्रमुख समस्या थियो। 

सन् १९६१ को जनगणना अनुसार नेपालमा प्रति १ लाख जीवित जन्ममा १५०० मातृ मृत्युदर भएको अनुमान गरिएको थियो। यो मातृ मृत्युदर सन् १९९१ मा आइपुग्दा घटेर ८३० मा झरेको देखिन्छ। विभिन्न स्रोतहरू अनुसार तथ्याङ्कका अंकहरूमा केही भिन्नता देखिए तापनि प्रवृत्ति भने घटदो दरमा  नै देखिन्छ। 

हालै प्रकाशित विश्व स्वास्थ्य संस्थाका अनुसार ( १६ – ४९ ) वर्ष समुहका महिलाका स्वास्थ्य प्रतिमान परिवर्तन भएर आएको छ। यस संस्थाका अनुसार हाल प्रतिएक लाख जन्ममा १५१ जना आमाहरूको मृत्यु हुने गरेको छ।

पुन: प्रजनन् उमेरका महिलाहरूको मृत्यु हुने कारणमा पनि भिन्नता आएको छ। हाल सोही उमेरका (१६ देखि  ४९ ) १ लाख मध्ये ८० जना महिला क्रोनिक अवरोधक रोगबाट, ६१ जना इस्केमिक मुटु रोगबाट, ५० जना स्ट्रोक र २१ जना लिवर रेस्पीरेटोरीबाट मृत्यु हुने गरेको छ। अर्थात् पहिला मूल रुपमा मातृ स्वास्थ्यको कारण हुने गरेको मृत्युको संख्या वर्तमान समयमा अन्य नयाँ रोग बाट हुन थालेको देखिन्छ। यी नयाँ रोगका कारणहरूमा वर्तमान समयमा आएको जीवनशैली र जलवायुमा आएको परिवर्तन हो।

कोशी प्रदेशमा मातृ स्वास्थ्यको स्थिति

कोशी प्रदेशमा रहेका १४ जिल्लाहरूको मातृ स्वास्थ्यको अवस्थाको विवेचना गर्न  राष्ट्रिय जनसंख्या तथा आवास जनगणना २०२१ को  तालिका १६ ( मृतकको व्यापक उमेर समूह र मृत्युको स्थिति अनुसार महिला मृत्युको संख्या, २०२१) मा रहेका तथ्याड़क हरुको आधारमा गरिएको छ।

जनगणना गरिएको वर्ष सन् २०२१ को १ वर्ष अवधिमा प्रजननयोग्य उमेर समूह (१६ – ४९) का जम्मा २ हजार ६१९ जना महिलाहरूको मृत्युका घटना रेकर्ड भएका छन्। ती कुल  मृत्युका घटनाहरूमध्ये जम्मा १०४ जना (३.६५ प्रतिशत ) मृत्युलाई मातृ मृत्यु अन्तर्गत राखिएको छ।   

कोशी प्रदेशका तराईमा रहेका चार जिल्लाहरू झापा,मोरङ, सुनसरी र उदयपुरमा प्रजननयोग्य उमेर समूह (१६ – ४९) का जम्मा १,७१८ मृत्युमध्ये ६८ जना (३.७३ प्रतिशत ) मृत्यु  मातृ मृत्यु अन्तर्गत भएका थिए। जिल्लाहरूको आधारमा हेर्दा झापा (५.४ प्रतिशत), मोरङ (३.२ प्रतिशत ), सुनसरी (३.६ प्रतिशत )  र उदयपुरमा (२.७ प्रतिशत )  मृत्यु  मातृ मृत्यु अन्तर्गत भएका थिए। 

कोशी प्रदेशका पहाडी भेगमा रहेका सात जिल्लाहरू इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ र ओखलढुंगा मा जम्मा ६८४ मृत्यु मध्ये ३० (३.९३ प्रतिशत) जनाको मृत्यु मातृ स्वास्थ्यको कारण भएको थियो। जिल्ला हरुको आधारमा हेर्दा इलाम (६.६ प्रतिशत) , पाँचथर (५.१ प्रतिशत), धनकुटा (२.४ प्रतिशत), तेह्रथुम (२.९ प्रतिशत), भोजपुर (२.६ प्रतिशत), खोटाङ (३.९ प्रतिशत) र ओखलढुंगा (३.९ प्रतिशत) रहेको छ। 

कोशी प्रदेशका हिमाली भागमा रहेका ३ जिल्लाहरु सोलुखुम्बु, संखुवासभा र तेह्रथुम प्रजननयोग्य उमेर समूह (१६ – ४९) का जम्मा २१७ मृत्युमध्ये जम्मा ६ जना (२.९ प्रतिशत ) मृत्यु  मातृ मृत्यु अन्तर्गत भएका थिए। जिल्लाहरूको आधारमा हेर्दा सोलुखुम्बु (३.७ प्रतिसत), संखुवासभा (२.७ प्रतिशत ) र  ताप्लेजुङमा  (२.३ प्रतिशत ) मृत्यु  मातृ मृत्यु अन्तर्गत भएका थिए।