बुटवल। बाँकेको बैजनाथ गाउँपालिकामा टीभी हेर्न नदिएको झाेकमा छोाराले बुवाको हत्या गरेका छन् । बैजनाथ गाउँपालिका- २ मकैबारी निवासी ३२ वर्षीय भविलाल रोकाले हिजाे राति ६० वर्षीय बुवा टोपबहादुर रोका क्षेत्रीको धारिलो हतियार प्रहार गरेर हत्या गरेकाे प्रहरीले जनाएकाे छ।
राति टीभी हेरिरहेका बेला बुवाले रोकेपछि रिसाएर धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ । घटनापछि राति नै छिमेकीले खबर गरेर घरमा प्रहरी पुगे पनि भविलाल फरार रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी लक्ष्मी खनालले बाबुछोराको सामान्य विवादमा यस्तो घटना भएको नेपाल प्रेसलाई बताइन् ।
‘घटनाको विस्तृत अनुसन्धान भइरहेको छ, तर घरका अन्य सदस्य र छिमेकीहरुसँग बुझ्दा बुवाले टीभी हेर्न रोकेपछि रिसाएर हतियारले हानेको कुरा छ । स्थानीयले सूचना दिएसँगै प्रहरी तत्काल घटनास्थल पुगेको थियो, तर भविलाल फरार भइसकेका थिए, प्रहरीले खोजी जारी राखेको छ’, उनले भनिन् ।
भविलाल अविवाहित हुन् । लागूऔषध सेवनकर्ता उनी दुई पटक सुधार केन्द्रमा बसेर फर्किएको बैजनाथ गाउँपालिकाको वडा नं २ का अध्यक्ष राजु रुचालले बताए ।
स्थानीयका अनुसार मृतक टोपबहादुरका दुई छोरा र दुई छोरी छन् । जेठो छोरा बिहेबारी गरेर अलग्गै बसेका छन् ।
प्रतिक्रिया