यसरी भएकाे थियाे चार जनाकाे ज्यान जानेगरी भएकाे हत्याकाण्ड

भाेजपुर ।भोजपुरको रामप्रसाद राई गाउँपालिका– २ को धोद्लेखानी बोन्थिताङमा एकै परिवारका चार जनाको ज्यान जानेगरी भएकाे हत्याकाण्डकाे रहस्य खुलेकाे छ । गएराति भोजपुर नगरपालिका–२ हेलाउँछ का ३० वर्षीय राजेन्द्र राईले आफ्नै ससुरालीमा गएर पत्नीसहित उनका माइती पक्षका चार जनाको हत्या गरेका थिए ।

राजेन्द्रले आफ्नै करिब १६ वर्षीया श्रीमती, ९ वर्षीय सालो, ससुरा ६८ वर्षीय बेलबहादुर गिरी र सासू ४५ वर्षीया मञ्जु गिरीको हत्या गरेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा अहिले स्थानीयको बाक्लो उपस्थिति छ । राति गाउँमा के भयो कसैले पत्तो समेत पाएनन् । प्रहरीका अनुसार सबैको हत्या गरेपछि राजेन्द्रले आफैँ प्रहरीलाई फोन गरेर ‘मैले यस्तो गरेँ’ भन्दै जानकारी गराएका थिए । त्यसपछि प्रहरी सबेरै करिब ३ बजे गाउँमा पुगेको थियो ।

पारिवारिक विवादका कारण एकै परिवारका चार जनाको हत्या गरेको राजेन्द्रले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

राजेन्द्रले आफूमाथि सासुले प्रहार गरेपछि आफूले पनि जबाफी आक्रमणमा सबैकाे ज्यान गएकाे बयान प्रहरीसामु दिएका छन्। उनले प्रहरीसामु भने- सुतिरहेकाे थिए, सासुले उठेर हेर्दा सासुकाे हातमा चक्कु देखे, पछि उठेर त्यही चक्कु खाेसेर सबैकाे हत्या गरे ।

स्थानीयहरुका अनुसार राजेन्द्रले एक वर्षअघि मात्रै १४ वर्षीया किशोरीलाई भगाएर विवाह गरेका थिए । तर, शारीरिक तथा मानसिक यातनाको कारण उनी घरमा बस्न सक्ने स्थिती नभएपछि माइती आएर बसेकी थिइन् ।

केही समयपछि नै राजेन्द्र उनलाई लिन ससुराली पुगेका थिए । तर, किशोरी आफूसँग जान नमानेपछि आवेगमा राजेन्द्रले ससुरा, सासू, श्रीमती र सालोलाई धारिलो हतियारले निर्ममता पूर्वक हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

यो घटना सामान्य पारिवारिक विवादजस्तो देखिए पनि यसको जरा सानै उमेरमै भएको विवाहसँग जोडिएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

सबैको हत्यापछि राईले आफैँमाथि पनि खुकुरी प्रहार गरेका छन् । गम्भीर अवस्थामा रहेका राजेन्द्रलाई उपचारको लागि जिल्ला अस्पताल भोजपुर लगिएको र घटना सम्बन्धमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।