एएफसी महिला एसियन कपमा नेपाल पराजित

काठमाडाै । एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह ‘एफ’को अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग टाइब्रेकरमा पराजित भएको छ ।

उज्वेकिस्तानको राजधानी तास्केन्दस्थित बुन्योदकोर रङ्गशालामा हिजाे भएको खेलमा उज्वेकिस्तानसँग नेपाल टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित भएको हो । हारसँगै नेपाल एसियन कप खेल्नबाट वञ्चित भएको छ । निर्धारित ९० मिनेटको खेल ३–३ गोलको बराबरीमा समाप्त भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । 

पेनाल्टी सुटआउटमा उज्वेकिस्तानका लागि एम सोयिमोभा, यु जोइरोभा, एम खिक्माटोभा र एम अमिनिजोनोभाले गोल गरिन् । यस्तै नेपालका लागि गीता राना र सविता रानामगरले मात्र गोल गरिन् । सावित्रा भण्डारी ‘साम्बा’ को प्रहार बारमा लागेर गोलपोष्टबाट बाहिरिएको थियो । त्यस्तै गोलकिपर अञ्जना रानामगरको प्रहार उज्वेकिस्तानी गोलकिपर एम जोनिमक्युलोभाले बचाइन् । जितसँगै उज्वेकिस्तानले पहिलो पटक छनोट चरण पार गरेर एसियन कपमा स्थान बनाएको छ ।