
काठमाडौं । देशभरिका श्रमजीवी पत्रकारहरूबीच प्रेस चौतारी नेपालप्रतिको आकर्षण तीव्र रुपमा बढ्दै गएको देखिएको छ । पछिल्लो समय विभिन्न जिल्ला र संगठनमा आबद्ध पत्रकारहरू प्रेस चौतारी नेपालमा प्रवेश गर्दै गएका छन् ।
नेपाल पत्रकार महासंघ सर्लाही शाखाका पूर्वउपाध्यक्ष तथा हाल श्रमजीवी पत्रकार संघ जिल्ला अध्यक्ष अनवर अहमदलाई प्रेस चौतारी नेपालका महासिचव हिरामान लामाले ०८२ असार ४ गते संगठनमा प्रवेश गराएका थिए ।
यस्तै, ०८२ असार २० गते प्रेस चौतारी नेपाल रुकुम पूर्व शाखाले आयोजना गरेको आधारभूत पत्रकारिता तालिमको अवसरमा सिस्ने गाउँपालिकाका प्रेस सेन्टर नेपालका सचिव टीका केसीले पनि प्रेस चौतारी रोजेका छन् । केसीलाई लुम्बीनी प्रदेशको सह–ईञ्चार्ज गणेश आचार्यले स्वागत गरेका थिए ।
जुम्लाबाट प्रेस सेन्टर नेपाल निकटका पत्रकारहरु प्रेस चौतारी नेपालमा प्रवेश गरेका छन् । प्रेस चौतारी नेपालका कर्णाली ईञ्जार्च याम शर्माका अनुसार जुम्लाबाट कान्जिरोवा टाइम्सका आकाश सुनार, कर्णाली मिसन पत्रिकाका लोकेश जङ्ग बिश्वकर्मा, लगायतका युवा पत्रकारहरूले अन्य संगठन त्यागेर प्रेस चौतारी नेपालमा प्रवेश गरेका छन् । उनीहरुलाई कर्णाली प्रदेश सचिव नौरते नेपाली, जिल्ला अध्यक्ष मानदत्त रावलले स्वागत गर्नुभएको थियो ।
प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाका अनुसार, प्रवेश गर्ने सम्पूर्ण पत्रकारहरूलाई संगठनभित्र उपयुक्त जिम्मेवारी प्रदान गरिनेछ । उनले भने,“प्रेस चौतारी नेपाल श्रमजीवी पत्रकारहरूको सबैभन्दा शक्तिशाली संगठन हो । यसले निरंकुश राजतन्त्रको अन्त्यदेखि लिएर सञ्चारसम्बन्धी सम्पूर्ण कानुन निर्माणसम्म महत्वपूर्ण योगदान दिएको छ ।”
हालसम्म देशभर प्रेस चौतारी नेपालमा ६,६७० सक्रिय सदस्य आबद्ध छन् । संगठनको ऐतिहासिक पृष्ठभूमि र श्रमजीवी पत्रकारको हकहितमा खेलेको भूमिकाले पत्रकारहरूलाई यसमा जोडिन प्रेरित गरेको महासचिव लामाले बताएका छन् । प्रेस चौतारी नेपालमा प्रवेशको यो बढ्दो लहरले संगठनको प्रभाव र पत्रकारबीचको विश्वास झनै मजबुत बनेको महासचिव लामाको भनाई छ ।
प्रतिक्रिया