कांग्रेस केन्द्रीय समिति बैठकमै गगन र माेहनबीच लफडा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र केन्द्रीय सदस्य माेहन बस्नेतबीच लफडा भएकाे छ । तीन दिनदेखि सानेपामा चलिरहेको कांग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्री थापामाथि खनिंदै बस्नेतले आक्रोश पोखेका हुन् ।

‘उहाँ (बस्नेत) ले महामन्त्रीमाथि आफू विरुद्ध लागेको आरोप लगाउनु भयो,’ एक केन्द्रीय सदस्यले भने, ‘संसदमा बोल्दा गगनजीले टेरामक्सलाई बढी उछालेर आफूलाई फसाउन खोजेको उहाँको गुनासो देखियो।’ उनले आफूविरुद्ध लाग्नेलाई सचेत रहन चेतावनी पनि दिएको ती सदस्यले बताए ।

’महामन्त्री गगन थापा टेरामक्स प्रकरणमा मविरुद्ध खुलेरै लाग्नुभयो । बाहिर पनि लाग्नु भयो, संसद्मै पनि लाग्नुभयो,’ उनले भने, ‘तपाईकै कारणले मविरुद्ध अख्तियारले छानबिन गर्‍यो ।’ उनले आक्रामक हुँदै थपे, ‘मविरुद्ध लाग्ने तपाईं हैन ? ढिलोछिटो पालो सबैको आउँछ । हेरौंला कोही चोखो हुनेवाला छैन, सग्लै चोखिनेवाला कोही छैन ।’ उनले पार्टीको नेतृत्व तहमा रहेका नेताहरू संगठन जोगाएर, पार्टीलाई जिताएर ल्याइरहने नेताविरुद्ध किन खनिन्छन् आफूले बुझ्न नसकेको पनि बताए ।

‘जुन मान्छेले एक्लै लडेर सिन्धुपाल्चोकमा संगठन बनाएको छ । माओवादीसँग एक्लै भिडिरहेको छ त्यही नेतामाथि नेतृत्व खनिने ?,’ उनले भने, ‘तपाईले जति गरे पनि टेरामक्समा मेरो केही गल्ती छैन । तर मलाई धेरथोर बदनाम बनाउने काम भयो ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स घोटाला प्रकरणमा भर्खरै बस्नेतमाथि पनि अभियोजन गरेको थियो । विशेष अदालतले बस्नेतसँग २५ लाख धरौटी माग गर्दै पुर्पक्षका लागि छाडेको छ ।