पहिराेमा पुरिएका तीन जनाकाे सकुशल उद्धार

ताप्लेजुङ । कुलोको पानी थुनिएर पहिरो जाँदा भत्किएको घरभित्र थुनिएका तीन जनाको स्थानीय गाउँलेले सकुशल उद्धार गरेका छन् । पहिराेले सिदिङ्वा गाउँपालिका–३ आङखोपका ६१ वर्षीय हस्तबहादुर कटुवाल, उनकी श्रीमती ठगमाया कटुवाल र छोरी सम्झना कटुवाल घरभित्र थुनिएका थिए ।

बुधबार बिहान (राति) १ बजे घरमाथिको कान्लो भत्किएर घर पुरिएको स्थानीयले जानकारी दिएका छन् । घर भत्किएको आवाजले मटानमा सुतेका छोराबुहारी ब्युँझिएका थिए । उनीहरूले गाउँमा होहल्ला गरेपछि गाउँलेहरू भेला भई तीनै जनालाई राति नै बाहिर निकालेका हुन् ।

भत्किएको घरको दलिन र ढुङ्गाले लागेर ठगमाया घाइते भएकी छन् । उनको थप उपचारका लागि गाउँबाट बाहिर लैजाने तयारी भइरहेको जनाइएको छ । हस्तबहादुर र छोरी सम्झनालाई भने सामान्य चोटपटक लागेको छ । बुधबार बिहान सिदिङ्वा गाउँपालिका केन्द्र साव्लाखु भञ्ज्याङबाट आएका स्वास्थ्यकर्मीले ठगमायाको उपचार गरिरहेका छन्।

छिमेकी मौसम लिम्बूका अनुसार पहिरोले पुरिएको घरमा श्रीमान–श्रीमती बस्ने र खाना पकाउने गर्थे भने मतानमा छोराबुहारी बस्ने गर्थे । बस्नका लागि समस्या नभए पनि खाने सरसामान भने केही पनि बाँकी नरहेको मौसमले बताए । खाद्यान्नदेखि भाँडा–वर्तन लगायतका सामग्री केही पनि नरहेको उनले बताए ।